२२ बैशाख २०८१, शनिबार
आगोलागीको कहर : घर जोगाउन बाल्टी बोकेर छानामा
  • काँचुली खबर

१३ वैशाख, दाङ। आमखोली सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बुधबार दाङको लमही नगरपालिका-९ तेलिया गाउँमा सल्कियो । गाउँले आतंकित भए । उनीहरू आफ्ना घरका सामान जोगाउने प्रयासमा लागे ।

जंगलको आगो निभाउँदा निभाउँदै आगो बस्तीमा सल्कियो । रामबहादुर कुमाल र उनका छोरा गणेश कुमालको घर जल्यो । काठले बारेका र खरले छाएका कच्ची घरमा आगो दनदनी दन्किन थालेपछि स्थानीयको केही जोर चलेन ।

त्यसपछि स्थानीय दिनेश कुमाल आफ्नो घर जोगाउन बाल्टीमा पानी बोकेर घरको छानामाथि चढे । इमिलिया प्रहरीका इन्सपेक्टर लालबहादुर श्रेष्ठका अनुसार दिनेशमात्र होइन, प्राय सबैजसो स्थानीय आ-आफ्नो घर जोगाउन पानी बोकेर छानामाथि चढेका थिए ।

‘दिनेशमात्र होइन, गाउँका अधिकांश व्यक्ति आ-आफ्नो घर जोगाउन बाल्टी, गाग्रा र अम्खोरा लिएर छानामा चढेको दृष्य दर्दनाक थियो,’ प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्, ‘अब घर जोगिंदैन भन्ने ठानेर होला घरभित्रका सामान पनि बाहिर निकालेका थिए ।’

उनका अनुसार जंगलको आगो भयानक थियो । प्रहरी र केही स्थानीय स्याउला र कुवाँको पानी बोकेर जंगलको आगो निभाइरहेका थिए । कुइरीमण्डल धुँवा र लप्काले आगो नियन्त्रणमा लिन नसकेपछि नजिकको लमही नगरपालिकाको दमकल मगाइएको थियो । त्यहीबेला एक्कासी रामबहादुर कुमाल र उनका छोरा गणेश कुमालको घरमा आगो लागेको देखिएको प्रहरी निरीक्षक श्रेष्ठ बताउँछन् ।

‘जंगलको आगो भयानक थियो । त्यसैले पहिल्यै हामीले दमकल मगाएका थियौं । जंगलको आगो निभाइरहेका बेला एक्कासी घरमा पो आगो सल्कियो,’ प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्, ‘दमकल छिट्टै आइपुगेकाले दुईवटा मात्र घर जले, नत्र त बस्ती नै सखाप हुन्थ्यो ।’

आगो निभाउन करिब ३० किलोमिटर टाढा पर्ने लमही नगरपालिकासहित गढवा गाउँपालिका र घोराही उपमहानगरपालिकाका दमकल पनि आएका थिए । ती दमकलको सहायताले जंगलको आगो नियन्त्रणमा लिइएको थियो ।

आगो नियन्त्रणमा नआइन्जेल मानिसहरूले आ-आफ्नो घरको छानो छोडेनन् । ‘आगोको फिलिङ्गो छानोमा आएमा तत्कालै निभाउँछु भनेर मानिसहरू आ-आफ्नो घरको छानामा चढेका थिए,’ प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्, ‘उनीहरू भाँडोमा पानी बोकेर करिब दुई घण्टासम्म छानोमा बसिरहे ।’

त्यो दृश्य दुरदराजका बस्तीको विवशताको थियो । यदि आगलागी भइहाल्यो भने तत्कालै दमकलको सुविधा उपयोग गर्न पाइन्छ भन्नेमा उनीहरू ढुक्क छैनन् भन्ने देखाउँथ्यो ।

किनभने केही दिन अगाडिमात्रै लमही नगरपालिकाको ९ नम्बर वडामै आगलागीमा परेर एक जनाको मृत्यु भएको थियो भने दुईवटा घर र एउटा गोठ जलेका थिए ।

लमही नगरपालिका वडा नम्बर ९ का अध्यक्ष भेषबहादुर केसीका अनुसार रिहारबाट बायाँतर्फ करिब ४-५ किलोमिटर यात्रा गरेपछि तेलिया गाउँ पुगिन्छ । जंगलसँग जोडिएको छ यो गाउँ । गाउँमा कुमाल, बोटे र केही क्षेत्रीको बसोबास छ । ‘धेरैजसो घर जंगलसँगै जोडिएको ऐलानी जग्गामा बनेका छन्,’ वडाध्यक्ष केसीले भने ।

आगलागी पीडित रामबहादुर कुमालले आगो समयमै निभाउन नसक्दा लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको बताए ।

आगलागीपछि लमही नगरपालिकाका मेयर जोगराज चौधरी पनि तेलिया गाउँ पुगेर तत्काल राहत उपलब्ध गराउने आश्वासन दिएर फर्किएका थिए ।

वडा अध्यक्ष केसीका अनुसार अहिले आगलागी पीडितहरू आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । उनीहरूलाई गाँस-बासको व्यवस्था मिलाउने प्रयास भइरहेको छ ।

अनलाईनखबरबाट

  • १३ बैशाख २०८१, बिहीबार १६:२० प्रकाशित
  • Nabintech