२१ बैशाख २०८१, शुक्रबार
भारतद्वारा नेपालगन्ज आइसीपी नेपाललाई हस्तान्तरण
  • काँचुली खबर

१० बैशाख, नेपालगन्ज । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरेको छ ।

गत जेठ २० गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको बेला भारतको नयाँ दिल्लीबाट दुबै देशका प्रधानमन्त्रीहरु नरेन्द्र मोदी र प्रचण्डले सो आइसीपीको संयुक्त रूपमा उद्घाटन गरेका थिए । तर, निर्माणका धेरै काम पूरा नभएकोले भारतले नेपाललाई हस्तान्तरण गरेको थिएन ।

हाल आएर निर्माणका सबै काम करिब सम्पन्न भइसकेको र आइसीपी सञ्चालनका लागि चौतर्फी दबाब सृजना भएपछि भारतले नेपाललाई हस्तान्तरण गरेको नेपाल इन्टर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरले बताए ।

उनका अनुसार भारत सरकारको निर्माण परियोजना राईटस लिमिटेडका महाप्रबन्धक गुलाब प्रजापतिले एक समारोहका बिच नेपाल सरकारको सङ्घीय आयोजना कार्यान्वयन एकाइ बाँकेका प्रमुख विजयकेशर खनाललाई आइसीपी हस्तान्तरण गरेका हुन ।

भारतबाट आइसीपी हस्तान्तरण भए लगत्तै सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेका प्रमुख खनालले आइसीपीलाई नेपाल इन्टर मोडेल यातायात विकास समितिका निर्देशक युवक डङ्गोललाई हस्तान्तरण गरे ।

नेपाल इन्टर मोडेल यातायात विकास समितिले आइसीपी सञ्चालनको जिम्मा पाएको टिआरएस एटलस लोजिकपाट प्रालिका प्रतिनिधि अमित गुप्तालाई हस्तान्तरण गरेर छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन आग्रह गरेको छ । १५ दिनभित्र आइसीपी सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको टिआरएस एटलस लोजिकपाट प्रालिका प्रतिनिधि गुप्ताले बताए ।

भारत सरकारको सहयोगमा सन २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएर २०२३ जुन ३ मा उद्घाटन गरिएको सो जाँच चौकीको निर्माण करिब दुई अर्ब भारतीय रुपियाँको लागतमा राजदीप बिल्डकन निर्माण कम्पनीले गरेको हो ।

नेपाल भारत सिमानाको रुपैडिहा र नेपालगन्जमा ८८ बिघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेनटाइन, बैङ्क, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत कर्मचारीहरूको आवास गृहको पनि निर्माण गरिएको छ ।

-गोरखापत्रबाट

  • १० बैशाख २०८१, सोमबार १३:०२ प्रकाशित
  • Nabintech