२१ बैशाख २०८१, शुक्रबार
बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द
  • काँचुली खबर

८ वैशाख, राँझा (बाँके) । बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहेपनि नवीकरण हुन नसकेका एक सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिए ।

उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । एक सय पाँच उद्योगतर्फ र एक सय ६० वाणिज्यतर्फका फर्म बन्द भएका हुन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी-व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका छन् । बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका थिए । यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन् ।

यस वर्ष चालु आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा उद्योगतर्फ चार सय ३४ र वाणिज्यतर्फ तीन सय ७३ गरी आठ सय सात घरेलु तथा साना उद्योग दर्ता भएको सूचना अधिकारीले जानकारी दिए । बाँकेमा चैत मसान्तसम्म उद्योगतर्फका छ सय ३१ र वाणिज्य फार्म एक हजार एक सय ५० गरी एक हजार सात सय ८१ घरेलु तथा साना उद्योग नविकरण भएका छन् ।

कोभिड-१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले बताए । उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन् । कैयौँ उद्योगी व्यवसायी नेपालगञ्जबाट विस्थापित हुन पुगेका छन् । रासस

  • ८ बैशाख २०८१, शनिबार १६:४६ प्रकाशित
  • Nabintech