१६ बैशाख २०८१, आईतवार
बाँकेका विभिन्न पालिका औलोको उच्च जोखिममा
  • काँचुली खबर

२८ फागुन, रासस । बाँकेको नरैनापुर गाउँपालिका औलो रोगबाट बढी प्रभावित भएपछि उच्च सतर्कता अपनाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नरैनापुरमा ८० जना औलोका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोगका ‘फोकल पर्सन’ दुर्गा गौतमले जानकारी दिए ।

यस क्षेत्रमा महिनौँदेखि औलोका बिरामी थपिँदै गएकाले पालिकाको समन्वयमा रगत परीक्षण, कीटनाशक झुल वितरण र सचेतनामूलक अभियान सञ्चालन गरिएको उनले बताए ।

उनका अनुसार पालिकाका सबै घरमा कीटनाशक झुल वितरण गरिएको र गर्भवतीलाई विशेष सावधानी अपनाइएको छ । चालु आर्थिक वर्ष २०८०-०८१ को साउनदेखि माघसम्म नेपालगञ्ज उपमहानगरपालिका, डुडुवामा र राप्तीसोनारी गाउँपालिकामा पाँचरपाँच जना, बैजनाथ गाउँपालिकामा एक जनामा औलोका बिरामी भेटिएको फोकल पर्सन गौतमले बताए ।

जिल्लाका बाँके कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा औलोका बिरामी शून्य छन् । औलोका बिरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको छ । डुडुवा गाउँपालिकाले विभिन्न टोलमा घरधुरी सर्भेक्षण शुरु गरेको जनाएको छ ।

तीन जनाका दरले चार वटा समूहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्भेक्षणसँगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताए ।

स्थानीयलाई ज्वरोलगायतका सामान्य लक्षण देखिने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमुना परीक्षण गर्न लगाइएको छ । सबै स्वास्थ्य संस्थामा रगत परीक्षणको कार्य निःशुल्क रुपमा व्यवस्था गरिएको छ।

  • २८ फाल्गुन २०८०, सोमबार १३:५२ प्रकाशित
  • Nabintech