१६ बैशाख २०८१, आईतवार
टि-२० सिरिज फाइनल : नेपालद्धारा १८५ को लक्ष्य प्रस्तुत
  • काँचुली खबर

२२ फागुन, काठमाण्डौं । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोड्यो । एक समय विशाल लक्ष्यतर्फ अग्रसर नेपालले बिचमा रनगति बढाउन नसक्दा त्यहाँसम्म पुग्न सकेन । अन्त्यतिर लगातार विकेट गुमाउँदा नेपाल डेथ ओभरमा दबाबमा परेको थियो ।

नेपालका लागि सर्वाधिक योगदान दिएका ओपनर आसिफ शेख अर्धशतकबाट चुके । ४७ रनमा माइकल लेभिटको एलबीडब्लु धरापमा परेका उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनी १४ औं ओभरको चौथो बलमा पेभेलियन फर्किएका थिए ।

गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिएका थिए । उनी सातौं विकेटको रुपमा १९ औं ओभरमा आउट भएका थिए ।

तेस्रो ओभरको पहिलो बलमा आसिफले २ रनमा रहँदा जीवनदान पाएका थिए । भिभिएन किंग्माको बलमा मिडविकेटमा माइकल लेभिटले सहज क्याच छोडेका थिए । ११ औं ओभरको पाँचौ बलमा पनि आसिफ जोगिए । माइकल लेभिटको बलमा किंग्माले थर्ड म्यानमा क्याच समाउन नसक्दा बल चौका भएको थियो ।

त्यसअघि चौथो ओभरको तेस्रो बलमा कुशल भुर्तेल आउट भए । दोस्रो बलमा छक्का प्रहार गरेपछि तेस्रो बलमा पनि स्टम्प पछाडी सट खेल्ने धुनमा उनी बोल्ड भए । उनले १० बलमा १ चौका र २ छक्कासहित २० रन जोडे ।

दोस्रो विकेटका लागि रोहित र आसिफले ५९ रनको साझेदारी गरे । रोहित दशौं ओभरको दोस्रो बलमा स्कुप सट प्रहार गर्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन जोडे ।

दीपेन्द्र १ रन जोड्दै टिम भान डर गुग्टेनबाट एलबीडब्लु आउट भए । कुशल मल्ल ११ बलमा ३ छक्कासहित २६ रन जोड्दै लङ अफमा विक्रमजित सिंहको हातबाट समातिए । करण केसीले ४ बलमा १ छक्कासहित ९ रन जोडे ।

आरिफ शेख ठूलो सट खेल्ने धुनमा पहिलो बलमै क्याच आउट भए । एक समय १७ ओभरमा १५८-४ को स्थितिमा रहेको नेपाल लगातार विकेट गुमाउँदा १८.२ ओभरमा १६८-८ को स्थितिमा पुगेको थियो ।

  • २२ फाल्गुन २०८०, मंगलवार १३:१३ प्रकाशित
  • Nabintech