१६ बैशाख २०८१, आईतवार
एक सय १४ वर्ष पुरानो लुम्बिनी अस्पताल, ६ अर्बमा हुँदैछ पुनर्निमाण
  • काँचुली खबर

१६ फागुन, बुटवल । एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ।

अत्याधुनिक संरचना सहितको १२ तले अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरिसकेको छ।

लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी गत पुस २६ गते सम्झौता गरेको थियो। सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ।

प्राधिकरणले यसअघि २०७८ साल फागुन ८ गते ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार बराबरको लागत अनुमानसहित पहिलो बोलपत्र आह्वान गरेको थियो।

बोलपत्रमा निश्चित कम्पनीलाई मात्र टेण्डर हाल्न मिल्ने गरी मिलेमतोमा ठेक्का प्रक्रिया अगाडि बढाइएको भन्दै चौतर्फी आलोचना भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सच्याउन निर्देशन दिएको थियो।

सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशनपछि प्राधिकरणले २०७८ असार ९ गते अर्को बोलपत्र आह्वान गर्‍यो। दोस्रो बोलपत्रमा पनि नेपालका दुई वटा निश्चित कम्पनी (शर्मा एण्ड शर्मा र रसुवा कन्स्ट्रक्सन) मध्ये कुनै एकले पाउने गरी स्पेसिफिकेसन तयार गरी सूचना सार्वजनिक गरिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले तत्काल यो काम अघि नबढाउन पुनः निर्देशन दिएको थियो।

सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम त्यतिबेलाका सबै प्रक्रिया स्थगित भएपछि तेस्रो पटकको ठेक्का आह्वान गरी १२ सय शय्याको अस्पताल भवनको ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ।

निर्माण कम्पनीले भवन निर्माणका लागि यसअघि २०१६ सालमा निर्माण गरिएको पुरानो भवन र संरचनाहरू हटाउन सुरूआत गरेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बिरामीहरूको उपचारमा कुनै बाधा नपुग्ने गरी जोखिमरहित तरिकाले पुराना संरचनालाई मार्किङ गरेर हटाउने प्रक्रिया सुरू भएको जानकारी दिए।

बुटवल उपमहानगरपालिका वडा नं. ९ मा रहेको ६ बिघा १२ कठ्ठा जग्गामा भवन निर्माण हुँदैछ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले भवन निर्माणपछि लुम्बिनी प्रादेशिक अस्पताल अत्याधुनिक पूर्वाधारसहितको प्रदेशकै अब्बल अस्पताल बन्ने बताए।

‘यसअघि केही विवाद हुँदा भवन निर्माको प्रक्रिया अगाडि बढ्न सकेको थिएन, अहिले विवाद समाधान भएर ठेक्का सम्झौता गरी निर्माणको प्रक्रिया अगाडि बढेको छ,’ मुख्यमन्त्री चौधरीले भने।

मुख्यमन्त्री चौधरीले तोकिएको समय र गुणस्तरमा भवन निर्माणका लागि संचार क्षेत्रबाट निरन्तर खबरदारी गर्न पनि आग्रह गरे।

एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले पनि अस्पताल भवन निर्माणमा चासो दिएका छन्।

पौडेलले रूपन्देहीमा यति ठूलो बजेटको आयोजना अरू कुनै नभएकोले सबै क्षेत्रको सहयोग र सहकार्य हुनुपर्ने बताए।

उनले कुनै पनि बहानामा भवन निर्माणमा ढिलाइ वा गुणस्तरमा लापरबाही हुन नहुने भन्दै प्रदेश सरकारले अगाडि बढाएको आयोजना भए पनि संघीय सरकारबाट गर्नुपर्ने सहयोगका लागि आफूले पहल गर्ने बताए।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोखरेलले भवन निर्माणपछि एउटा आधुनिक अस्पतालका लागि आवश्यक पर्ने सबै खाले सुविधासहितको क्षेत्रीय अस्पतालमा स्तरोन्नति गरिने बताए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुदर्शन थापाका अनुसार अब बन्ने अस्पतालको मुख्य भवन अन्डरग्राउन्डसहित १२ तलाको हुनेछ।

भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन्। ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन्। भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ।

क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ। १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने डा. थापाले जानकारी दिए।

पुरानो भवन बुढो र जीर्ण बन्दै जाँदा उच्च भूकम्पीय जोखिममा परेपछि यसअघि पनि संघ र प्रदेश सरकारसँगै अस्पताल विकास समिति आफैंले पनि करोडौं रुपैयाँ लगानी गरेका छन्।

पछिल्लो पाँच वर्ष यता मात्रै संघीय सरकारको लगानीमा दुई पटक गरी ५८ करोडको लागतमा भौतिक संरचना निर्माण गरिएका छन्। अस्पताल विकास समितिले पनि इमर्जेन्सी, ओपिडी, अन्तरंग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउण्ड वाल निर्माण लगायतमा ३५ करोड बढी लगानी गरेको छ।

यस्तो छ अस्पतालको इतिहास

तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर ज.ब.रा. को पालामा वि.सं. १९६७ फागुन १५ गते ६ शय्याबाट सुरू भएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबभन्दा पुरानो र ठूलो अस्पताल हो। सेन वंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीबाट दुई जना भारतीय चिकित्सकबाट अस्पतालको सेवा सुरू गरिएको थियो।

३१ वर्ष बुटवल फूलबारीबाट सञ्चालन भएको अस्पताललाई १९९८ सालमा हाल रक्तसंचार गृह रहेको स्थानमा सारिएको थियो। हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो। फराकिलो स्थानबाट सेवा सुरू गरिएपछि २०२४ सालमा ५० शय्या पुर्‍याएर लुम्बिनी अञ्चल अस्पताल बनाइएको थियो। अञ्चल अस्पताल बनेपछि बिरामीको चाप बढ्दै गयो र २०५० सालमा १ सय शय्या पुर्‍याइयो।

२०७५ साल माघमा लुम्बिनी प्रदेश सरकार मातहत आई लुम्बिनी प्रादेशिक अस्पताल बनेपछि अहिले आइपुग्दा अस्पतालमा ५ सय २० शय्या पुगेका छन्। दैनिक दुई हजारदेखि बाइस सयसम्म बिरामीहरू उपचारका लागि आउने अस्पतालमा सामान्य अवस्थामा पनि ७० प्रतिशत बढी बेडहरू बिरामीले भरिने गर्छन्।

सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत् एक सय गरी चार सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्यधिक चापका कारण १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट बिरामीहरूलाई सेवा प्रदान भइरहेको छ।

अस्पतालका सूचना अधिकारी वरिष्ठ बाल रोग विशेषज्ञ डा. नेत्रबहादुर रानाले लुम्बिनी प्रादेशिक अस्पतालले लुम्बिनी प्रदेशका मात्र नभई अन्य प्रदेशका समेत गरी ४० लाख जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए।

डा. रानाका अनुसार अस्पतालमा दैनिक रूपमा ओपिडीतर्फ एक हजार पाँच सयदेखि २ हजार र इमर्जेन्सीमा २ सयदेखि दुई सय ५० जनासम्म बिरामी आउने गर्छन्।

अस्पतालबाट गतवर्ष मात्रै १२ हजार २ सय ७५ महिलाले प्रसूति सेवा लिएका थिए। तीमध्ये ४ हजार ४ सय ८२ जनाको शल्यक्रियामार्फत् प्रसूति गराइएको थियो।

हालैमात्र क्याथल्याब सेवा समेत संचालन गरिएको अस्पतालबाट मिर्गौलाको डायलाइसिस, प्लाष्टिक सर्जरी, ग्याष्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियु, एनआइसियु, बर्थिङ सेन्टर, नेत्र रोग, हाड जोर्नी तथा नसा रोग, दन्त, नाक, कान घाँटी, आँखा, मनोरोग लगायतका विशिष्टिकृत सेवा संचालन छन्।

अस्पतालमा १२७ जना चिकित्सक (विशेषज्ञ र मेडिकल अधिकृत), २९४ नर्सिङ कर्मचारी, १५७ पारामेडिक्स कर्मचारी, २८ जना प्रशासनिक कर्मचारी, १८९ जना कार्यालय सहयोगीरसरसफाइकर्मी, २६ जना सुरक्षागार्ड तथा २८ जना अन्य गरी ८५१ जना कार्यरत छन्।

-सेतोपाटीबाट

  • १६ फाल्गुन २०८०, बुधबार १७:५० प्रकाशित
  • Nabintech