१७ बैशाख २०८१, सोमबार
नेपालगन्जमा पहिलाे पटक कृत्रिम गर्भधारण सेवा सुरू
  • काँचुली खबर

११ फागुन, नेपालगन्ज । एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निःसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान सम्पत्तिलाई सन्तान जन्माउन सहयोग गर्ने आईयुआई सेवा पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा सुरु गरेको जनाएको छ ।
कृत्रिम गर्भधारणको पहिलो प्रयासको रूपमा पुरुषबाट निकालिएको वीर्यलाई प्रविधिको माध्यमद्वारा राम्रोसँग ल्याबमा तयार पारी दक्ष तथा अनुभवी स्त्रीरोग विशेषज्ञले उपयुक्त समयमा महिलाको गर्भाशयमा राख्ने प्रविधिलाई आईयुआई भनिन्छ ।
एचसिआरसी अस्पताल नेपालगन्जका वरिष्ठ महिला तथा प्रसूति विशेषज्ञ डा. मञ्जु बि सी शाहले सो कुराको जानकारी गराउँदै अस्पतालमा रहेको दक्ष चिकित्सकको टिमले सो सेवा प्रवाह गर्ने बताईन । उनले एक वर्षभित्र अत्याधुनिक आईभिएफ ल्याबको स्थापना गर्ने लक्ष्यसहित आईयुआई सेवा सुरु गरिएको बताईन ।
वरिष्ठ महिला तथा प्रसूति विशेषज्ञ डा. शाहले भनिन, ‘महिलाले गर्भधारण गर्ने कुरालाई सामान्य रूपमा हेर्दा सरल जस्तो देखिएता पनि सबै महिलाको लागि सरल र सहज नहुन सक्छ । दम्पतीमा हुने विभिन्न समस्याको कारणले गर्दा सन्तान उत्पादनमा बाधा पुगेको हुन्छ । हाल नेपालमा समेत निसन्तान, बाँझोपनको समस्या भित्र भित्र गोप्य रुपमा धेरै रहेको देखिएको छ, सन्तान प्राप्त कोलागि दम्पतीले सही जानकारी नपाउँदा धेरै दुःख र पैसा खर्च गर्न बाध्य रहेको अवस्था छ ।’
सन्तान प्राप्तीका लागि अत्याधुनिक प्रविधिको विकास भएता पनि परम्परागत झारफुकमा विश्वासलाई प्राथमिकता र प्रजननका बारेमा खुलेर कुरा गर्न समस्या रहेको परिवेशमा प्रविधिलाई समयमै प्रयोगमा ल्याउन नसकेर धेरैले दुख पाउने गरेको चिकित्सकको भनाई छ ।
उमेर बडेसँगै लगभग ४० वर्ष माथि पुगेपछि मात्र प्रविधि छ रे भनेर दम्पतीहरू बुझ्नलाई अस्पताल आउने गरेको पनि डा. शाहले बताईन । उनले अहिले फेसबुक, टिकटक, युट्युबसँगै सामाजिक सञ्जालको प्रयोग अत्याधिक रुपमा बढेकोले अनेकौँ किसिमका सही र गलत सूचना र जानकारी बारे जताततै बहस र कुराकानी हुन थालेको पनि जानकारी पाउन सहज हुँदै गएको बताईन ।
पछिल्लो समयमा गर्भधारण र बाँझोपनसम्बन्धी समस्या लिएर अस्पताल पुग्नेहरू बढ्दै गएकोले दम्पतीको स्वास्थ्य चेकजाँच अनुसार समाधानको लागी आईयुआई र आईभिएफ सेवा अति आवश्यक रहेको एचसिआरसी अस्पताल नेपालगन्जले जनाएको छ ।
  • ११ फाल्गुन २०८०, शुक्रबार ११:३० प्रकाशित
  • Nabintech