२७ बैशाख २०८१, बिहीबार
नेपालगन्ज नाकाबाट ६ महिनामा ११ कराेडकाे नरिवल आयात
  • काँचुली खबर

१५ माघ, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगन्ज भन्सारबाट नरिवल आयात अत्यधिक बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा नरिवल आयातमा नौ गुणा बढी बृद्वि भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्ष २०८०-८१ को पुस मसान्तसम्म गत आर्थिक वर्षभन्दा १० करोड मूल्य बढीको नरिवल आयात भएको छ । चालू आवको ६ महिनामा ११ करोड ११ लाख मूल्यको ५ लाख ४६ हजार किलोग्राम नरिवल आयात भएको जनाउँदै नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले बताए ।

उनका अनुसार यही अवधिमा गत वर्ष १ करोड २७ लाख मूल्यको १ लाख ६२ हजार किलो मात्रै नरिवल आयात भएको पाइएको छ । नेपालगन्ज नाका हुँदै आयात गरिएको नरिवल स्थानीय बजारसहित, कर्णाली, बर्दियादेखि दाङसम्म बिक्री हुनेगरेको व्यवसायीहरूको भनाइ छ ।

यहाँ भारतबाट काँचो र सुक्खा नरिवल ल्याउने गरिएको छ । जुन धार्मिक कार्य, सेवनदेखि विभिन्न उत्पादनमा प्रयोग गरिन्छ । नेपालको पूर्वी जिल्लामा नरिवल उत्पादन गरे पनि अन्यत्र उत्पादन हुँदैन, त्यसैले नरिवलका लागि भारतमै निर्भर हुनुपरेको छ ।
-गाेरखापत्रबाट

  • १५ माघ २०८०, सोमबार १८:३७ प्रकाशित
  • Nabintech