१६ बैशाख २०८१, आईतवार
ब्यवसायीहरुको आन्दोलनमा हेभी इक्विपमेन्ट व्यवसायी संघको ऐकवद्धता
  • काँचुली खबर

२७ मंसिर, नेपालगन्ज । हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेले उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीले गर्ने संघर्षको कार्यक्रममा ऐकवद्धता जनाएको छ । बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीलाई ज्ञापन पत्र बुझाउँदै हेभी इक्विपमेन्ट बाँकेका अध्यक्ष संगम शाहले बैंक ज्यादतिका बिरुद्ध आवाज उठाउने जुनसुकै संगठनको आन्दोलनमा ऐकवद्धता जनाउने बताएका हुन ।

बैंक ज्यादतीका बिरुद्धमा आवाज उठाउने, बिरोध गर्ने, आन्दोलन गर्ने, नेपाल सरकारलाई खबरदारी गर्ने जुनसुकै संगठन, वाणिज्य संघ, बाँके अटोमोवाएल्स एसोशियसन, ब्यवसायीहरु, सरोकार मञ्च बाँके र कुनै पनि संघसंस्था, उद्योगी ब्यवसायीहरुलाई हाम्रो पूर्ण समर्थन रहेको जानकारी गराउँदछौं ज्ञापन पत्रमा भनिएको छ ।

मंगलबार बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघसंस्थाले प्रधानमन्त्री, सङ्घीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएका थिए ।

उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील सङ्घसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान सङ्घर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनुपर्ने मागसहित सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्जमार्फत अर्थमन्त्री र गभर्नरलाई १४ बुँदे ज्ञापनपत्र बुझाइएको हो ।

समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामी नेतृत्वको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्जका निमित्त निर्देशक रामकुमार कार्कीमार्फत गभर्नरलाई ज्ञापनपत्र बुझाइएको हो । गभर्नरलाई बुझाएको ज्ञापनपत्र अर्थमन्त्रीलाई बोधार्थ पठाइएको छ ।

ज्ञापन पत्रमा एक अङ्कको बैंक ब्याजदर कायम गर्नुपर्ने, १५ महिने कोरोनाकालको बेला बैंकलाई तिरेर ब्याजफिर्ता गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले सुरुको सम्झौता अनुसारको ब्याजदर कायम गर्नुपर्ने, १० करोड रुपियाँभन्दा माथिको ऋण लगानी गर्दा सम्पत्ति शुद्धीकरणको कागजात अनिवार्य गर्नुपर्नेलगायतका छन् ।

समितिका संयोजक टङ्कबहादुर धामीले आफ्ना मागहरु सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन ।

  • २७ मंसिर २०८०, बुधबार १५:४२ प्रकाशित
  • Nabintech