१६ बैशाख २०८१, आईतवार
नेपालगन्ज भन्सारमा न्यून मूल्याङ्कनमा भन्सार जाँचपास हुने गरेको खुलासा
  • काँचुली खबर

२४ मंसिर, नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन देखाएर भन्सार जाँचपास गराई राजस्व छलेर ठुलो परिमाणमा व्यापारिक माल सामान भित्रिने गरेको खुलासा भएको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट खटिएको टोलीले भारतबाट आएको एक कन्टेरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएका माल सामान फेला परेपछि सो खुलासा भएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीका अनुसार भन्सार कार्यालय पार गरेर भारतबाट नेपालगन्जतर्फ आइरहेको एनएल ०१ एएफ १७२६ नम्बरको भारतीय कन्टेनर चेकजाँच गर्ने क्रममा बिल र बिजक शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर भौतिक परीक्षण गर्दा न्यून मूल्याङ्कनमा भन्सार जाँचपास गरिएका माल सामान फेला परेको थियो ।

एसपी शाहीले कन्टेनर र भारतको उत्तर प्रदेश जिल्ला फिरोजावाद बस्ने ४२ वर्षीय चालक जयपाल सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाएको थियो । सो कार्यालयले अनुसन्धान र भौतिक परीक्षण गरेर न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएका माल सामानको पाँच लाख २१ हजार ४८४ रुपियाँ जरिवाना तोकेको बताए ।

कम मूल्याङ्कन देखाएर राजस्व छल्ने कार्यमा भन्सार कार्यालयका कर्मचारीको पनि मिलेमतो हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । दैनिक सयौंको सङ्ख्यामा कन्टेनर र ठुला ट्रकहरु भारतबाट मालसामान बोकेर नेपालगन्ज नाकाबाट भित्रिदैं आएका छन । यस्तो अवस्थामा कम मूल्याङ्कन देखाएर भन्सार जाँच पास गराउने घटना सार्वजनिक भएपछि यस बारे गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरु बताउँछन ।

-गोरखापत्रबाट

  • २४ मंसिर २०८०, आईतवार १६:४९ प्रकाशित
  • Nabintech