१५ बैशाख २०८१, शनिबार
नेपालगन्जमा रैथाने उत्पादनको प्रवर्धनकालागी हाटबजार
  • काँचुली खबर

२० मंसिर, नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन हुनेभएको छ ।

नेपालगन्जबाट कोक्रोमाको उत्पादन बजारीकरण र विक्रीवितरण गर्दैआएको नाना चाचाले नेपालगन्जमा प्रत्येक शनिबार रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन गर्न लागेको महिला उद्यमी तथा नाना चाचाका सञ्चालक निता जिसी मल्लले जानकारी दिईन ।

नाना चाचाले स्थानीय महिला उद्यमीले उत्पादन गरेका बस्तुहरू बजारीकरण गर्ने, उत्पादित बस्तुको प्रचारप्रसार र बजारमा प्रतिस्पर्धा गर्ने, स्थानीय तथा रैथाने खाद्यवस्तुको संरक्षण र प्रवर्द्धनमा महिलाको सहभागितालाई अझ बढाएर लैजाने मल्लले बताईन ।

नाना चाचाले प्रत्यक्ष स्थानीय उत्पादकसँग सहकार्य गर्दै दार्चुलाको बेसार, कैलालीको चुक, अचारलगायत रैथाने उत्पादनको बजारीकरण गरिरहेको र तिनै बस्तुको प्रवर्धनका लागि हाटबजारमा राखिने सञ्चालक मल्लले जानकारी दिईन । उनले महिला उद्यमीलाई हाटबजारमा आई आफ्नो घरेलु उत्पादनका सामग्री बिक्री गर्न आग्रह गरीन ।

हाटबजारले स्थानीयस्तरमा रहेका रैथाने खाना तथा परिकार र कपडालाई संरक्षण एवं प्रवर्धन गर्दै रैथाने कृषि, कला सीप, प्रविधि, उद्यमशीलता विकास, युवा, महिला र विपन्न वर्गलगायत सबैलाई संलग्न गराउँदै रोजगार सिर्जना गर्न पहल गर्ने योजना बनाएको उनको भनाइ छ ।

नेपालमा अवसर नदेखेर वैदेशिक भूमिमा जाने असङ्ख्य युवाले नेपालमै प्रचुर सम्भावना बोकेको रैथाने खाद्यवस्तुको व्यावसायिक रूपले उत्पादन तथा बजारीकरण गर्न सकेमा नेपालमै उत्पादित रैथाने बस्तुको संरक्षण पनि हुने र नेपालमै आत्मनिर्भर बन्न सकिने तथा विदेशतिर पनि जान नपर्ने उनले बताईन ।

नाना चाचाले कोक्रोमासँगको सहकार्यमा नेपालगन्जबाट कपासद्वारा सफ कारीगढहरूको हस्तनिर्मित सीप र कडा परिश्रमबाट उत्पादन गरिएका बालबालिकाको कपडा उत्पादन र बजारीकरण तथा विक्री गर्दै आएको छ । नाना चाचाको आयोजना तथा रेष्ट्रो कप तथा नेपालगन्ज ग्यालरीको सहकार्यमा प्रत्येक शनिवार सुर्खेतरोडस्थित रेष्ट्रो कप परिसरमा रैथाने उत्पादनका लुगा कपडा तथा खाद्यवस्तुको हाटबजार सञ्चालन गरिने सञ्चालक मल्लले जानकारी दिईन ।

  • २० मंसिर २०८०, बुधबार १५:४४ प्रकाशित
  • Nabintech