२० बैशाख २०८१, बिहीबार
बाँकेमा १७२ जना एचआइभी संक्रमितको मृत्यु
  • काँचुली खबर

१७ मंसिर, नेपालगन्ज । एचआइभी एड्सका कारण बाँकेमा हालसम्म एक सय ७२ जनाले ज्यान गुमाएका छन् । ४३ वर्षको अवधिसम्म पाँच सय ५६ एचआइभी संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी एड्स फोकलपर्सन रवीन्द्र शाहले जानकारी दिए । यीमध्ये चार सय १२ जना बाँकेका हुन् ।

एचएचएफको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उनले पछिल्लो समय एचआइभी संक्रमण दर घटेको दाबी गरे । उनले आर्थिक वर्ष ०७८/७९ मा बाँकेमा ११ हजार सात सय ४५ जनाको एचआइभी परीक्षण गर्दा एक सय ५७ जनामा एचआइभी पुष्टि भएको जानकारी दिए । तर, आव ०७९/८० मा १७ हजार तीन सय २८ जनाको परीक्षण गर्दा एक सय नौजनामा एचआइभी पुष्टि भएको शाहले बताए ।

गर्भवती महिलामा पनि एचआइभी संक्रमण दर घटेको तथ्यांक छ । आव ०७९/८० मा जिल्लाका २१ हजार चार सय १६ जना जाँच गर्दा कसैमा पनि एचआइभी संक्रमण नदेखिएको उनले बताए । बाँकेमा जाँच भए पनि एचआइभी पुष्टि हुनेमा जिल्लाबाहिरका समेत भएको उनको भनाइ छ । ‘बाँकेमा आएर परीक्षण गराउनेको संख्या पनि उल्लेख्य छ । यहाँ पुष्टि भएकामध्ये केही बाहिरी जिल्लाका पनि छन्,’ उनले भने ।

भेरी अस्पतालले एचआइभी संक्रमितको उपचार र परीक्षण निःशुल्क गरिरहेको भेरी अस्पतालका ग्यास्ट्रोलोजिस्ट फिजिसियनसमेत रहेका एचआइभी एड्स फोकलपर्सन डा. संकेतकुमार रिसालले जानकारी दिए । उनले एचआइभी पुष्टि हुनेबित्तिकै एआरटी विधिमार्फत उपचार गरिएको बताए । अन्तरक्रियामा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले सचेतना जगाउन विश्व एड्स दिवसका अवसरमा १ डिसेम्बरको बिहान नेपालगन्जमा सचेतनामूलक र्याली निकालिने बताए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले एचआइभीबारे सर्वसाधारणलाई जानकारी दिन सके संक्रमण न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरिन् ।

-नयाँपत्रिकाबाट

  • १७ मंसिर २०८०, आईतवार ११:२३ प्रकाशित
  • Nabintech