१५ बैशाख २०८१, शनिबार
एकीकृत भन्सार चौकीलाई सुख्खा बन्दरगाह बनाउन माग
  • काँचुली खबर

१० मंसिर, नेपालगन्ज । नेपालगञ्जमा निर्माणाधीन एकीकृत भन्सार चौकीलाई सुख्खा बन्दरगाहमा परिणत गर्न माग गरिएको छ । नेपालगञ्जका अगुवा उद्योगी व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासमक्ष सुख्खा बन्दरगाह आवश्यक भएकाले ध्यानाकर्षण गराएका हुन ।

अगुवा उद्योगी व्यवसायीहरु पशुपतिदयाल मिश्र, कृष्णप्रसाद श्रेष्ठ र सञ्जय अग्रवालले एकीकृत जाँच चौकीको निर्माणको अवस्थादेखि नै सुख्खा बन्दरको आम बुझाइ रहेको भन्दै त्यसका लागि मन्त्री ज्वालाको ध्यानाकर्षण गराएको बताए । अगुवा व्यवसायी मिश्रले भने, ‘नेपालगञ्जमा निर्माणाधीन एकीकृत जाँच भन्सार चौकीलाई सुख्खा बन्दरगाहमा परिणत गर्दा पश्चिम नेपालको वैदेशिक ब्यापारमा ठुलो फड्को मार्ने निश्चित छ । ’

एकीकृत भन्सार चौकीमा सुख्खा बन्दरगाहका लागि आवश्यक सम्पूर्ण पूर्वाधार रहेको नेपाल उद्योग बाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । भारत सरकारले नेपालगञ्जसँग जोडिने गरि भारततर्फ रेलवे पूर्वाधारमा समेत ठुलो लगानी गरेकाले नेपाली व्यवसायीहरुले सुख्खा बन्दरगाहको माग गरेका हुन् ।

भारतले बहराइच-नानपारा-नेपालगञ्ज रोडको ब्रोडग्रेज लाइन निर्माणका लागि तीन अर्ब ४२ करोड रुपियाँ विनियोजन गरेपछि रेल्वे लिङ्कसमेत सहज तरिकाले जोडिने भएकाले सुख्खा बन्दरगाह निर्माण गर्न व्यवसायीहरुले माग गरेका हुन् । हालको लिङ्क रोड एकीकृत भन्सार चौकीबाट दुई किलोमिटरको दूरीमा रहेकाले नेपाल सरकारले भारतीय पक्षसँग पहल गरि सिधै आईसिपीसँग जोडेर सुख्खा बन्दरगाह निर्माण गर्न सकिने सुझाव व्यवसायीहरुको छ । सो अवसरमा मन्त्री ज्वालाले व्यवसायीको मागका विषयमा मन्त्रालय गम्भीर भएको बताउनुभयो । मन्त्री ज्वालाले भने, “आईसिसीलाई सुख्खा बन्दगाह बनाउने माग सही छ, मन्त्रालयले यसलाई सकारात्मकरुपमा लिएको छ ।”

नेपालगञ्जको जयसपुरमा भारत सरकारको सहयोगमा आईसिपी निर्माण भई सञ्चालनको क्रममा छ । आईसिपीका लागि ९० बिघा जग्गा नेपाली पक्षले जग्गा उपलब्ध गराएको छ भने अन्य निर्माणको सम्पूर्ण जिम्मेवारी भारतीय पक्षको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समयमा दुबै देशका प्रधानमन्त्रीबाट आईसिपीको उद्घाटन भइसकेको छ ।
गोरखापत्रबाट

  • १० मंसिर २०८०, आईतवार १३:४१ प्रकाशित
  • Nabintech