१९ बैशाख २०८१, बुधबार
भारतले दिएकाे १५ मुर्रा राँगा नेपालगन्ज आईपुगे
  • काँचुली खबर

७ मंसिर, नेपालगन्ज । भारतले दिएका १५ वटा मुर्रा जातका राँगा नेपालगन्ज नाका हुँदै नेपाल ल्याइएको छ । बुधबार साँझ नेपालगन्जको रूपैडिया नाकामा भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन्।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने बताएको थियो। सोही राँगा लिन बुधबार पशु सेवा विभागका प्रमुख एवं पशु विकास अधिकृत माधव अर्यालसहितको टोली नेपालगञ्ज पुगेको थियो। अब यी राँगाहरूलाई लहान, पोखरा र नेपालगञ्जमा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रमा पाँच-पाँच वटाको दरले बाँडिनेछ ।

पशु विज्ञहरूका अनुसार उच्च नश्लका मुर्रा भैँसीहरूले रैथाने भैँसीभन्दा दोब्बर परिणाममा दूध दिने बताउँछन्। सोही कारण सरकारले रैथाने भैँसीहरूमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा भित्र्याउन पहल गरेको थियो।

सामान्यता साढे तीन वर्ष पुगेका मुर्रा राँगाहरू वीर्य उत्पादनका लागि तयार हुन्छ। अहिले नेपाल ल्याइएका प्राय राँगाहरू साढे दुईदेखि तीन वर्ष बीचको रहेकाले वीर्य उत्पादन गर्न केही समय लाग्ने बताईएकाे छ ।

  • ७ मंसिर २०८०, बिहीबार ०७:३७ प्रकाशित
  • Nabintech