विश्वकप छनाैट : नेपाल यमनसँग पराजित
  • काँचुली खबर

५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे ।
ओमारले ७२ औं मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । उनले नेपाली लेफ्ट ब्याक आशिष चौधरी उपचारका क्रममा मैदान बाहिर रहँदा गोल गरेका थिए ।
यस्तै मोहम्मद अब्दुल्लाह अल-दाहीले खेलको अन्त्यतिर गोल गर्दै यमनको जित पक्का गरे ।
दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २-० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो । दुई खेलपछि नेपाल समूह एचमा अंकविहीन छ ।
यस समूहमा युएई र बहराइन बलियो टोली भएकाले नेपालसामु घरेलु मैदानमा यमनलाई हराएर अंक जोड्ने अवसर थियो । विशेषगरी फिनिसिङमा नेपालले राम्रो गर्न सकेन ।
मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यमन विरुद्ध पहिलो रोजाईँमा यसअघिको खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए । चोटबाट पुनरागमन गरेका अनन्त तामाङ, दिनेश हेन्जनसँगै एरिक विष्ट पहिलो रोजाईमा खेलेका थिए ।
तर अनन्नतले ७२औं मिनेटमा चोटका कारण मैदान छाडे । उनलाई स्ट्रेचरमै राखेर मैदान बाहिर ल्याइएको थियो ।
यस्तै यसै खेलबाट राजेश परियारले राष्ट्रिय टिममा डेब्यु गरे । राजेशले ७२ औं मिनेटमा अञ्जन विष्टको स्थानमा मैदान प्रवेश गर्दै सिनियर टोलीबाट डेब्यु गरेका हुन् ।
दोस्रो हाफमा आयुष घलान, मनिष डाँगी र हिसुब थपलियालाई नेपालले मैदान प्रवेश गराएको थियो ।
  • ५ मंसिर २०८०, मंगलवार २१:२५ प्रकाशित
  • Nabintech