२४ बैशाख २०८१, सोमबार
रोल्पाको योगदानलाई इतिहासले बिर्सिन सक्दैन : प्रधानमन्त्री प्रचण्ड
  • काँचुली खबर

२४ कार्तिक, लिवाङ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राजनीतिक आन्दोलन र परिवर्तनमा रोल्पा जिल्लाले गरेको योगदानलाई इतिहासले बिर्सिन नसक्ने बताएका छन ।

शुक्रबार दिउँसो रोल्पाको सदरमुकाम लिवाङमा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनवादी क्रान्तिमा रोल्पा जिल्लाले खेलेको भूमिका अग्रणी रहेको बताए ।

प्रचण्डले भने, ‘रोल्पा क्रान्तिको आधार इलाका हो, परिवर्तनको महत्त्वपूर्ण आधार हो। इतिहास, त्याग र बलिदानको प्रतीक हो। शान्ति र निर्माणको पनि प्रतीक हो। नेपालको क्रान्तिकारी आन्दोलन र गणतन्त्रको स्थापनामा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ। यो योगदानलाई इतिहासले बिर्सिन सक्दैन।’

‘गणतन्त्रपछि रोल्पाको विकास गुणात्मक छ। सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, बिजुली लगायतका क्षेत्रमा राम्रो प्रगति भएको छ। तर यो पर्याप्त छैन’ उनले भने, ‘मेरो नेतृत्वमा गठन भएको वर्तमान सरकार सुशासन, विकास र सुशासनको लक्ष्यसहित अगाडि बढेको छ। तपाईहरूले सुन्नुभएकै होला, थुप्रै भ्रष्टाचारीहरू जेलमा छन्, भूमाफियाहरूमाथि कारबाही थालिएको छ। जनताको आशा र विश्वासको वातावरण बन्दै गएको छ।’

जनसभामा नेकपा (माओवादी केन्द्र) का उप-महासचिव वर्षमान पुन, सचिव हितमान शाक्य लगायतका नेताहरूले सरकारको भ्रष्टाचारविरोधी अभियानमा पार्टी पूर्ण साथ रहेको र यो अभियान अझै उचाइका साथ अगाडि बढ्ने बताए ।

जनशक्ति आपूर्तिमा सहयोग गर्छु

जनसभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले लिवाङमा निर्मित ५० शय्याको अस्पताल भवनको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा प्रधानमन्त्रीले भने, ‘रोल्पामा विकासका काम एकपछि अर्को अघि बढ्दैछन्। आज ५० शय्याको अस्पतालको उद्घाटन भएको छ। सेवा बिस्तारपछि अस्पतालले थप सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास लिएको छु।अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको व्यवस्था सरकारले गर्नेछ ।’

सो अवसरमा प्रधानमन्त्रीले सम्पूर्ण राजनीतिक दल र नागरिक मिलेर मुलुकलाई विकास र समृद्धिको दिशामा लैजानुपर्ने बताउँदै सरकारले त्यसको नेतृत्व गरिरहेको प्रष्टाएका थिए ।

  • २४ कार्तिक २०८०, शुक्रबार १८:१६ प्रकाशित
  • Nabintech