७ जेष्ठ २०८१, सोमबार
नेपालगन्जबाट ११ टन राहत सामग्री प्रभावित क्षेत्रमा पठाईयाे
  • काँचुली खबर

२० कात्तिक, नेपालगन्ज । भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा पठाइएकाे छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले दिएको जानकारी अनुसार आइतबार भारतीय वायु सेनाको विमानबाट नेपालगन्ज ल्याइएको ११ टन राहत सामाग्रीसहित यहाँ रहेका अन्य राहत सामग्रीलाई दुई ट्रकमा भरेर पठाइएको छ ।

उनले एक ट्रक सामाग्री जाजरकोट र एक ट्रक सामाग्री रुकुम पश्चिमका लागि पठाइएको जनाउँदै सोमवार थप दुई ट्रक सामाग्री पठाइने बताए । थप सामाग्री ट्रकमा लोड गर्ने कार्य भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । उनले विभिन्न सङ्घसंस्था लगायत निकायहरूबाट प्राप्त र सरकारी राहत सामाग्री पनि प्रभावित जिल्लामा पठाउन थालिएको जानकारी दिए ।

भारतले पठाएको सामाग्रीहरूमा प्लास्टिक त्रिपाल  ६२५ थान, स्लिपिङ ब्याग १००० थान, ब्ल्यांकेट १००० थान, टेन्ट ठुलो खालको ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट र औषधि तथा अन्य सामग्री ४८ प्रकारका रहेको थियो ।

सो सामाग्रीलाई नेपालगन्ज विमानस्थलमा भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खडकालाई हस्तान्तरण गरेका थिए ।

राहत सामाग्री बोकेर आइतबार नेपालगन्ज विमानस्थलमा भारतीय वायुसेनाको विमान अवतरण गरेको थियो भने सोमवार पनि सो विमानले थप राहत सामाग्री लिएर नेपालगन्ज आउने भारतीय राजदूतावासले जनाएको छ ।

उद्धार कार्य अन्तिम चरणमा पुगेकोले अब प्रभावित जिल्लाका विभिन्न ठाउँमा प्रभावितलाई बस्ने त्रिपाल, ओढ्ने र ओछ्याउने बिस्तरा लगायत कुराको बढी आवश्यकता देखिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी भीम प्रसाद ढकालले बताए ।

उनले राहत सामाग्री आउने क्रम सुरु भएकोले छिटै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
गाेरखापत्रबाट

  • २० कार्तिक २०८०, सोमबार १०:४१ प्रकाशित
  • Nabintech