जमुनाह नाकाबाट खत्री बेपत्ता
  • काँचुली खबर

१९ कात्तिक, नेपालगन्ज । भारतबाट नेपालगन्ज फर्किंदै गरेका दाङका गोपीराम खत्री नेपालगन्ज नाकाबाट बेपत्ता भएक छन । दाङ बङ्गलाचुली गाउँपालिका-४ गहतेर निवासी ५४ वर्षीय खत्री दिल्लीबाट नेपालगन्ज हुँदै घर जाने क्रममा शुक्रबार अपरान्ह ३ देखि ४ बजेतिर नेपाल-भारत सीमा नाकाबाट बेपत्ता भएका हुन ।

यहाँस्थित नेपाल-भारत सीमामा सुरक्षा जाँच गर्ने क्रममा बस रोकेका बेला शौच गर्न जान्छु भनी निस्कीएका खत्री अहिलेसम्म सम्पर्कमा नआएको भन्दै परिवारले खोजी गरिदिन प्रहरीसँग आग्रह गरेको छ । खत्रीको साथमा मोबाइल नरहेको र निधारमा चोट लागेकाले पट्टी बाँधिएको परिवारले जनाएको छ ।

खत्रीका छोरा यादव खत्रीले लडेर टाउकोमा चोट लागेपछि पिताको मानसिक अवस्था ठिक नरहेकाले हराएको बताए । उनले भने, ‘टाउकोमा चोट लागेपछि बेला-बेलामा बुवाको मानसिक सन्तुलन बिग्रिने र केही छिनमै ठिक हुने, फेरि बिग्रने गरेको छ ।’

‘माइलो बुवासँग घर फर्किदै गर्दा नाकामा हराउनुभएको हो, अहिलेसम्म भेटिनुभएको छैन, उहाँलाई खोजेर दाङसम्म पुर्‍याइदिन हुन विनम्र अनुरोध गर्दछु’ उनले भने । जिल्ला प्रहरी कार्यालय बाँकेले खत्रीको खोजीका लागि जमुनाहा नाकालगायत जिल्लाका विभिन्न प्रहरी युनिटलाई फोटो पठाएर निर्देशन दिइसकेको जनाएको छ ।

नाकामा बस चेकजाँच भइरहेको बेला उत्रेका खत्री नेपालतर्फ नछिरेर भारततर्फ गएको आशङ्का प्रहरीले गरेको छ ।

-गोरखापत्रबाट

  • १९ कार्तिक २०८०, आईतवार १३:५६ प्रकाशित
  • Nabintech