३० बैशाख २०८१, आईतवार
शिक्षक अनुमतिपत्रको परीक्षा दिन हवाई यात्रा
  • काँचुली खबर

१७ कात्तिक, हुम्ला । शिक्षक अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीले हवाई टिकट पाएका छन् । शुक्रबार समिट एयर र नेपाल एयरलाइन्सको उडानमार्फत् उनीहरु परीक्षा दिन नेपालगन्जतर्फ लागेका हुन् ।

शिक्षक अनुमतिपत्रको परीक्षा केन्द्र सुर्खेत परेका खार्पुनाथ गाउँपालिका-३ को रायाँ गाउँका नरेन्द्र रावलले हवाई टिकट पाएर नेपालगन्ज झरेपछि परीक्षामा सहभागिता सुनिश्चित भएको बताए । उनले छैठौं दिनमा टिकट पाएका हुन ।

कात्तिक १८ गते शनिबार शिक्षक अनुपतिपत्रको परीक्षा हुँदैछ । समिट एयर सिमकोटका प्रमुख गोबिन्द लामाले १५ जना परिक्षार्थी सिमकोटबाट नेपालगन्ज उड्न पाएको बताए । परीक्षालाई प्राथमिकतामा राखेर परीक्षार्थी नेपालगन्ज पठाउने कार्य भएको उनको भनाइ छ ।

त्यसैगरी, नेपाल एयरलाइन्सको उडानमार्फत् १२ जना परीक्षार्थी नेपालगन्ज झारेका छन् । समिट र नेपाल एयरलाइन्सका दुई वटा उडानमार्फत् २७ जना शिक्षक अनुमतिपत्रको परीक्षा दिन नेपालगन्ज पुगेका हुन् ।

हुम्लाबाट बाँके, बर्दिया र सुर्खेत परीक्षा केन्द्रमा परीक्षार्थी सहभागी हुँदैछन् । त्यस्तै अन्य सात जना परीक्षार्थीले अझै टिकन पाउन सकेका छैनन् । उनीहरु सातै जनालाई शनिबार पठाउने तयारी भइरहेको छ ।

हुम्लाबाट उडान कम हुँदा यात्रुलाई मर्का पर्दै आएको छ । साथै बिरामीलाई समेत उपचार गर्न जानका लागि सहज रुपमा टिकट पाउन कठिन हुने गरेको छ ।

-गोरखापत्रबाट

  • १७ कार्तिक २०८०, शुक्रबार १३:१३ प्रकाशित
  • Nabintech