२९ बैशाख २०८१, शनिबार
मौवाको मदिरा परीक्षण उत्पादन गर्दै लुम्बिनी प्रदेश सरकार
  • काँचुली खबर

१५ कात्तिक, कोहलपुर । लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई प्रवद्र्धन गर्न लिएको लक्ष्य अनुरुप पहिलोपटक मौवाको मदिरा परीक्षण उत्पादन सुरु हुने भएको छ । प्रदेश सरकारले बाँकेको राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन तथा व्यवस्थापन सम्बन्धी कार्यक्रमको आयोजना गर्ने भएको हो ।

मंगलबार राप्तीसोनारी गाउँपालिका र पर्यटन डिभिजन कार्यालय बाँकेले पालिकाको कार्यालयमा बैठक बसेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम ‘मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन तथा व्यवस्थापन’ संचालन गर्ने निर्णय गरेका छन् ।

पर्यटन डिभिजन कार्यालय प्रमुख दिनेश अधिकारी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकिय अधिकृत ओमप्रकास देवकोटालगायत राप्ती सोनारीका विभिन्न वडाका वडाअध्यक्षको उपस्थितिमा उक्त कार्यक्रम संचालन गर्ने निर्णय गरिएको हो । निर्णय अनुसार मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण राप्ती सोरारीको वडा नम्बर ३ र ४ संचालन गर्ने निर्णय भएको पालिकाका अध्यक्ष पौडेलले बताए ।

पौडेलले स्थानीय उत्पादनबाट बनाइएको मदिरालाई ‘ब्रान्डिङ’गर्न सके रोजगारीदेखि आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।

पर्यटन डिभिजन कार्यालय प्रमुख अधिकारीले लुम्बिनी प्रदेशका अन्य स्थानभन्दा राप्ती सोनारीका सामुदायिक वनहरुमा बढी मौवा उत्पादन हुने भएका कारण राप्ती सोनारीलाई छनौट गरिएको बताए । उनले मौवाको स्थानीय मदिरा उत्पादनका लागि दुईवटा वडाका ३० घरहरु छनौट गरिने बताए ।

‘यो परीक्षण काल हो । अब हामी शुक्रबार जान्छौं र ३० घरधुरी छनौट गरेर उहाँहरुलाई मदिरा उत्पादन गर्न आवश्यक सामग्री खरिद गर्नेछौं । छनौट भएका घरधुरी सबैलाई एकै पटक नभएर फरक फरक समयमा मदिरा उत्पादन गर्न दिन्छौं र उहाँहरुले उत्पादन गरेका मदिरा पनि फरक फरक बोतलमा राख्छौं,’ अधिकारीले भने । अधिकारीका अनुसार मौवाको स्थानीय उत्पादन परीक्षणका लागि परामर्श दातासमेत राखिने छ भने आवश्यकता अनुसार गुणस्तर नापतौलसँग पनि समन्वय रहनेछ ।

पर्यटन डिभिजनको मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण कार्यक्रममा हाल राप्ती सोनारी गाउँपालिकाले समन्वयको भूमिका निभाएको अधिकारी बताए । उनका अनुसार प्रदेश सरकारले स्थानीय फलफूलबाट मदिरा उत्पादन गर्नका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्येबाट पर्यटन विभागले राप्ती सोनारीमा मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण गर्न लागको हो ।

अधिकारी मौवाको स्थानीय मदिरा उत्पादन परीक्षण सफल भएको खण्डामा उक्त क्षेत्रका स्थानीयहरुको आयआर्जनको स्रोत थपिने बताउँछन् ।

  • १५ कार्तिक २०८०, बुधबार ११:११ प्रकाशित
  • Nabintech