१३ जेष्ठ २०८१, आईतवार
बाँकेमा विद्युत महसुल नतिर्नेको लाइन काटिने
  • काँचुली खबर

१२ कात्तिक, कोहलपुर ।  विद्युतको महसुल नतिर्नेको लाइन काटिने भएको छ । आजदेखि सर्वसाधारणका साथै सरकारी कार्यालय र स्वास्थ्य चौकीमा पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिएकाको हकमा सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत लाइन काटिने नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज र कोहलपुर वितरण केन्द्रले जनाएको हो ।

प्राधिकरणका अनुसार ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल भुक्तानी बाँकी रहेका ग्राहकको कात्तिक १२ गतेदेखि अभियानको रूपमा विद्युत् लाइन काटिने छ ।

प्राधिकरणले यसअघि नै सूचना जारी गरी आठ स्थानीय तहलाई पनि रु बाइस करोड ८५ लाख विद्युत् महसुल तिर्न ताकेता गरेको थियो । पैँतालिस दिनभित्र महसुल नतिरे कारबाही गर्ने चेतावनी दिएपछि स्थानीय तहका प्रमुखले आपसी छलफल गरेपश्चात् लाइन काट्ने निर्णयमा पुगिएको नेपालगञ्ज शाखाका प्रशासन प्रमुख भवानी चन्दले बताइन् ।

उनले प्राधिकरणले सार्वजनिक गरेको सूचना पूर्णरुपले कार्यान्वयन गरिने भएकाले अब महसुल नबुझाए नियमनअनुसार कारबाही हुने पनि जानकारी दिइन् । अनुमति नलिइ बिना मिटर आफूखुसी जथाभावी सडकबत्ती जडान गर्ने कार्य कानुनसम्मत नरहेकाले सो नगर्न र नगराउन तथा मिटर जडान नगरी बालिएका त्यस्ता सडक बत्तीमा प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गराउन पनि सम्पूर्ण स्थानीय निकायलाई अनुरोध गरिएको प्राधिकरणको सूचनामा भनिएको छ । मिटर जडान नगरिएका अनधिकृत सडकबत्ती हटाइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाँकेका आठ स्थानीय तहले रु. २२ करोड ८५ लाख ३१ हजार ८४ विद्युत् महसुल बुझाउन बाँकी छ । सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकाले रु. १९ करोड ४५ लाख आठ हजार १९ विद्युत् महसुल तिर्न बाँकी रहेको छ भने कोहलपुर नगरपालिकाले रु. पाँच लाख ९८ हजार छ सय ४४ बुझाउन बाँकी छ ।

यसैगरी वैजनाथ गाउँपालिकाले रु. त्रिसठ्ठी हजार ७० हजार, राप्ती सोनारी गाउँपालिकाले रु. पन्द्र हजार सात सय सात, खजुरा गाउँपालिकाले रु. पाँच हजार सात सय ७८, डुडुवा गाउँपालिकाले रु. एक करोड चौराननब्बे लाख ५८ हजार १९, नरैनापुर गाउँपालिकाले रु. एक लाख २३ हजार सात सय ५० र जानकी गाउँपालिकाले रु. चौध लाख ४९ हजार तीन सय ६८ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएकोछ ।

  • १२ कार्तिक २०८०, आईतवार १७:०८ प्रकाशित
  • Nabintech