नेपाललाई यूएईद्वारा १४१ रनको मध्यम लक्ष्य
  • काँचुली खबर

१ कार्त्तिक, काठमाडौं । नेपालले त्रिकोणात्मक टि-२० आई श्रृंखलामा पाहुना टोली यूएईद्वारा १४१ रनको मध्यम लक्ष्य पाएको छ । मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा मंगलबार जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रनको योगफल तयार पारेको हो ।

उसका लागि बासिल हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेल्दा अली नासिरले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे ।

यूएईका लागि डेब्यू खेल खेलेका ओपनर खालिद शाह ६ बल खेल्दा शून्य रनमा आउट भए भने मोहम्मद वासिमले १८ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ र आसिफ खानले १२ बलमा २ चौकासहित १५ रन जोडे ।

बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक ३, गुलशन झाले २ तथा सोमपाल कामी र अभिनाश बोहराले १-१ विकेट लिए । यसैखेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका स्पिनर मौसम ढकाल भने विकेट बिहीन बने । उनले २ ओभरमा १४ रन खर्चिए

प्रतियोगितामा आयोजक नेपालसहित यूएई र हङकङको सहभागिता रहेको छ । नेपालले आज पहिलो खेलमा यूएईसँग प्रतिस्पर्धा गरिरहेको हो । दुवै टोली जितसहति प्रतियोगितामा सुखद् शुरुवात गर्ने योजनामा रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा नेपालमा टी २० आई शृंखला शुरु भएको हो । नेपालले दोस्रो खेल कार्तिक २ गते हङकङसँग खेल्ने छ। यस्तै तेस्रो खेल पुनः नेपालले कार्तिक ४ गते हङकङ र चौथो खेल कार्तिक ६ गते युएईसँग खेल्नेछ।

राउन्ड रोबिनका सबै खेल मुलपानी मैदानमा हुनेछन्। शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल भने कार्तिक १० मा टियु क्रिकेट मैदानमा हुनेछ। नेपालले आईसीसी टि २० विश्वकप एसिया क्षेत्र छनोटअघि टी २० आई शृङ्खला आयोजना गर्न लागेको हो।

त्रिकोणात्मक शृङ्खला लगत्तै नेपालले आईसीसी टि २० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने छ । नेपालमै हुने छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ।

  • १ कार्तिक २०८०, बुधबार १५:३५ प्रकाशित
  • Nabintech