१ जेष्ठ २०८१, मंगलवार
कालापानीको तिंकरमा एपिएफको बिओपी स्थापना
  • काँचुली खबर

२३ भदौ, काठमाण्डौं । दार्चुलास्थित कालापानी क्षेत्रमा पर्ने इलाकामा सशस्त्र प्रहरी बलको थप चौकी स्थापना भएको छ। सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)ले चीनको सीमातर्फ दार्चुलाको व्याँस गाउँपालिका-१ स्थित छयाँलेक तिंकरमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको हो ।

बिओपीको सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले शुक्रबार उक्त बिओपीको उद्घाटन गरेको एपिएफका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

दार्चुला सदरमुकामबाट करिब १ सय १२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो। सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्गरू दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करिब ११ किलोमिटरको दुरीमा छ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला सहित ८ ठाउँमा बिओपी स्थापना गरिसकेको छ।

तिंकरमा स्थापना भएको बिओपीसहित चीनतर्फ ९ वटा र भारततर्फ २ सय ४३ गरी बिओपीको संख्या २ सय ५२ वटा पुगेको छ।

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बिओपी स्थापनाको लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भाद्र १३ गते त्यसतर्फ पुर्‍याइएको थियो। सो बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ। नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुकहरू भारतको नाभिडाङ र चीनको ताक्लाकोट बजार नजिकै पर्छ।

कार्यक्रममा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्व गण कैलाली तथा नं. ४४ गण दार्चुलाका गणपति, नं. ५० गुल्म छाङ्गरूका गुल्मपति, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला स्थित प्रमुखहरू लगायत संचारकर्मी र स्थानीय बासिन्दाहरूको समेत उपस्थिति थियो।

  • २३ भाद्र २०८०, शनिबार १३:५३ प्रकाशित
  • Nabintech