१६ बैशाख २०८१, आईतवार
प्रतिबद्धता-पत्र सहित मतदाताको घरघरमा समावेशी प्यानलका उम्मेदवारहरू 
  • काँचुली खबर

८ साउन, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका छन ।

खानेपानी संस्था आर्थिक सुशासन कायम गर्ने, आम कोहलपुर बासिलाई सुलभ मूल्यमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने लगायतमा मुद्दा बोकेर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका हुन । कोहलपुर वडा नं. १० का मतदाता माझ पुगेर अध्यक्ष पदका उम्मेदवार रुद्र प्रसाद खनाल लगायतको टोलीले कोहलपुर क्षेत्रको खानेपानी समस्या समाधान गर्न र कोहलपुर खानेपानी संस्थाको नेतृत्व गर्न आफू नेतृत्वको टिम सक्षम रहेको बताउँदै आफूहरूको प्यानललाई मतदान गर्न आग्रह गरेको छ । उम्मेदवारको टोलीसँग उपभोक्ताहरूले जडान भएका धारामा पानी नआउने समस्या छिटो भन्दा छिटो समाधान गर्न आग्रह गर्दै खनाल नेतृत्वको प्यानललाई बिजयी गराउने प्रतिबद्धता जनाएका छन ।

समावेशी प्यानल “उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासन युक्त संस्था सञ्चालन व्यवस्थापनको प्रतिवद्धता” भन्ने नारा सहित चुनावी मैदानमा छ । अध्यक्षका उम्मेदवार खनालले कोहलपुर क्षेत्रको खानेपानीको समस्या समाधानका लागी गुरुयोजना निर्माण गरी लागू गर्ने, जमिन मुनिको पनिको विकल्प स्वरुप भेरी-बबई-मानखोला ड्राइभर्सन निर्माण गरि खानेपानीको दिगो व्यवस्थापन गरिने, मुख्य बजार क्षेत्रमा सडकको दुवै तर्फ खानेपानीको पाइप बिच्छाउने प्रतिबद्धता जनाएका छन ।

उनले आफूहरू ४ दलीय गठबन्धन गरेर चुनावी मैदानमा होमिएको भएपनि बिजयी भए पश्चात आम उपभोक्ताको हितमा खरो उत्रने तथा आर्थिक रुपमा मितव्ययिता अपनाई संस्थागत सुशासन कायम गरिने बताए ।

सो प्यानलबाट अध्यक्ष पदका उम्मेदवार रुद्र प्रसाद खनालले ‘अङ्गुरको झुप्पा’, उपाध्यक्षका उम्मेदवार यम बहादुर रावत क्षेत्रीले ‘माछा’, सचिव पदका उम्मेदवार राम कृष्ण पाण्डेले ‘कुर्सी’, कोषध्यक्ष पदका उम्मेदवार नारायणी वलीले ‘केराको बोट’ (घरी सहितकाे), सह-सचिव पदका उम्मेदवार यशोदा थापाले ‘ताला चाबी’ र सह-कोषध्यक्ष पदका उम्मेदवार रेशमलाल सापकोटाले ‘फुटबल’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा हाेमिएका छन ।

खुला सदस्यमा क्रमश: केशव राज पोख्रेलकाे ‘काँइयो’, दुर्गा प्रसाद काफ्लेकाे ‘खरायो’, चन्द्र बहादुर घर्तीकाे ‘डोको’, महिला सदस्यमा अन्जना सुनारकाे ‘झोला’ र मेनका न्यौपाने आचार्यकाे ‘भित्ते घडी’ चुनाव चिन्ह रहेको छ ।

  • ८ श्रावण २०८०, सोमबार ११:०६ प्रकाशित
  • Nabintech