१३ बैशाख २०८१, बिहीबार
कोहलपुर खानेपानीमा अनियमितताको आशंका, नयाँ नेतृत्व चयनमा सकस
  • काँचुली खबर

९ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ८ वर्षपछि अधिवेशन आयोजना गर्यो । लामो समय अबैधानिक तवरले संस्था संचालन गरेको आरोप खेप्दै आएको निवर्तमान समितिले जेठ २ गते नयाँ नेतृत्व चयनकालागि वार्षिक साधारण सभा तथा अधिवेशनको आयोजना गरेको थियो । लामो समयपछि भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै संस्था गतिशिल हुनेमा उपभोक्ताहरु विश्वस्त थिए । तर उपभोक्ताले सोचे अनुसार न त संस्थाले नयाँ नेतृत्व चयन गर्न सक्यो न त निकास नै दिन सक्यो । २ गतेलाई तय भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन नसकेपछि संस्था अहिले कोमामा पुगेको छ ।

नर बहादुर मल्ल अध्यक्ष रहेको कार्य समितीको कार्यशैलि र प्रवृत्तिप्रति अधिकाशं उपभोक्ताहरु असन्तुष्ट रहेको पाईएको छ । संचालक मितिको कार्यकाल बढिमा एक बर्ष थप गर्न मिल्ने संस्थाको बिधानमा उल्लेख भएपनि ३ वर्ष (कुल ८ वर्ष) अबैधानिक तवरले संस्था सञ्चालन गरी संस्थालाई अनिर्णयको बन्दी बनाएको भन्दै उपभोक्ताहरुले आक्रोश ब्यक्त गरेका छन । खानेपानी संस्थाबाट आफु सबैभन्दा बढि पिडित भएको महेन्द्र पौडेलले दाबी गरे । “७० दिन भयो धारामा पानी नआएको, खानेपानीको पानी कस्तो हुन्छ भन्ने नै थाहा छैन”, आक्रोशित हुँदै उनले भने “अबदेखी मिटर रिडिङ गर्न नदिने सोचमा छु, जुन दिन देखि पानी आउँछ तब दिउला । धारा खुल्ला राख्दा हावाले मिटर चड्ने रहेछ । पानी खान नपाए किन बिल तिर्ने ?”

मनिका रोका क्षेत्रिको पनि यस्तै दुखेसो छ, “पानी कम हावा धेरै भएर होकि बिजुलीको भन्दा पानीको बिल धेरै आउछ ।” खानेपानी संस्थापछि असन्तुष्टी पोख्दै उनले भनिन, “एक बाल्टिन पानी आउदैन महिनाको २०० तिर्नुपर्छ । पटक पटक खाने पानी अफिसमा जानकारी गराए पनि कुनै सुनुवाई भएन ।”

संस्थाको नामै परिवर्तन

बिधान अनुसार अबैधानिक रहेको तत्कालिन कार्यसमितीले संस्थाको नाम समेत परिवर्तन गरेको पाईएको छ । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई बिस्थापित गराउदै उक्त समितिले कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको नामबाट कार्य सम्पादन गरीरहेको पाईएको हो । संस्थाको नाम परिवर्तन गर्ने अधिकार साधारणसभालाई मात्र भएपनि प्रक्रिया मिचेर संस्थाको नामैै परिवर्तन गर्नु अबैधानिक भएको जानकार बताउँछन ।

नयाँ धारा जडानका निम्ति १०००० मौजुदा ब्यबस्थाका बिपरीत १५००० उठाएर नितिगत भ्रष्टाचार गर्ने गरेको पुष्टि गरेको उक्त कार्यसमितीले आफ्नो कार्यकाल (बैधानिक र अबैधानिक) गरि ४३२ पटक बैठक बसेको जनाएको छ । स्मरण रहोस प्रति बैठक प्रति कार्यसमिती सदस्यले १५०० भत्ता लिदैं आएका छन । जस अनुसार बैठक भत्ता मात्र ७१ लाख २८ हजार हुन आउछ । संस्थाको पछिललो रिपोर्ट अनुसार करीब २४ लाख बेरुज देखिएकाले खानेपानीमा भ्रष्टाचार भएको छैन भन्ने आँकडा ब्यर्थ रहेको एक कार्य समितीका सदस्यले नाम नबताउने शर्तमा भने ।

वडाबाट प्रतिनिधि चयन हुन नसक्दा साधारण सभा बेलैमा गर्न नसकेको जिकिर गर्दै आएको उक्त समितिले सुचना बिना प्रतिनिधि चयन गरेको पनि उपभोक्ताहरुले आरोप लगाउने गरेका छन । कुनै पत्रपत्रिका तथा वडाहरुका सुचना पाटिमा सुचना टाँस नगरि र उपभोक्ताहरुलाई खबर नै नगरि आफु अनुकुलका प्रतिनिधि छनौट गरेको भन्दै कोहलपुर १० का संजय मण्डलले आक्रोश ब्यक्त गरे । उनले १० नं. वडाको प्रतिनिधि छनौट गर्दा आम उपभोक्तालाई सुचना नदिएरै प्रतिनिधि छनौट गरेको प्रति आक्रोश ब्यक्त गर्दै पानीको बिल उठाउन घरघर पुग्ने खानेपानी संस्थाले बिल बुझनेसंगै आम उपभोक्ताहरुलाई प्रतिनिधि छनौट भेलामा आउने बारे किन पत्राचार गर्न नसकेको हो भन्दै प्रतिप्रश्न गरेका छन ।

कार्यालय भित्रका ब्यथितीबारे बोले कर्मचारीलाई समेत आँखाको तारो बनाउने शैलि अपनाएको उक्त समितीले आफु अनुकुल काम नगरेको भन्दै केहि चौकिदार र कम्प्युटर अपरेटर समेत हटाउने प्रस्ताव साधारण सभामा लगेपछि सो बारे ब्यापक आलोचना भएको सभामा सहभागि एक प्रतिनिधिले बताए ।

कालोमोसो लगाएको कारण देखाउँदै चौकिदार हटाएर ६ जना सुरक्षा गार्ड राख्ने प्रस्ताव ल्याउनुको वास्तविक कारण भने अर्कै रहेको त्यहाँ कार्यरत एक कर्मचारीले आफ्नो नाम नछाप्ने शर्तमा भने । उनका अनुसार सचिव प्रेम प्रसाद कटुवालले “अरुलाई नभन्नु म अध्यक्षसँग कुरा गर्छु” भन्दै स्टोरबाट एक गाडी (१५ थान) पाईप लोड गरि दैलेखतिर गरेका थिए । (यस सम्बन्धि भिडियो हामीसँग सुरक्षित छ ।)

सो बारे बुझदा संस्थाका कोषाध्यक्ष एक नारायण चापागाईले आफुलाई यस विषयमा जानकारी नभएको बताए भने अध्यक्ष नर बहादुर मल्लले सापटी लिएको र अहिले हिसाब मिलिसकेको बताएका छन ।

संस्थाको आर्थिक पक्ष पारदर्शि नदेखिएको भन्दै जेठ २ को साधारणसभाले छानविन समिति समेत गठन गरेका थियो । साधारण सभामा पेश गरेको एकिकृत भन्ने आर्थिक प्रतिवेदन सभामा उपस्थित प्रतिनिधिहरुलाई शंकास्पद लागेपछि ५ सदस्यीय छानविन समिती गठन भएको हो । हर्क बड थापा संयोजक रहेको उक्त समितीमा तेज प्रसाद अधिकारी, शशेन्द्र शाहि, शिव पोख्रेल र अमर चन्द सदस्य रहेका छन । समितीले कार्य समितीले पेश गरेको नोक्शान हिसाव अध्यन गरिरहेको जनाएको छ ।

समितिको प्रारम्भीक छानविनमा नगर विकास कोषबाट ल्याएको ऋणको ब्याज तथा सावा समेत नतिरेर बिभिन्न खाले सेवा सुबिधा लिने गरेको पाईएको एक सदस्यले बताए ।

संस्थाका एक सदस्यले दिएको जानकारी अनुसार संस्थाको तर्फबाट पैसा तिर्ने गरि कार्यसमितीका पदाधिकारी देखी सदस्य सम्मको जिवन बिमा गरिएको छ । प्रत्येकको ३ लाख ५० हजारको जिवन बिमा गरिएको छ । बिमा बापतको प्रिमियम हरेक वर्ष संस्थाको कोषबाटै जानेको गरेको छ ।

  • ९ जेष्ठ २०८०, मंगलवार १८:१६ प्रकाशित
  • Nabintech