२६ बैशाख २०८१, बुधबार
कागती खेतीबाट वार्षिक ५ लाख आम्दानी
  • काँचुली खबर

२१ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुमस्थित बाघखोर गाउँका झग्गुप्रसाद ओलीले कागती खेतीबाट वार्षिक ५ लाख रुपियाँ आम्दानी गरिरहेका छन ।

११ वर्षअघि ओलीले डेढ बिगाहा जमिनमा कागती खेतीको कारणले गाउँ नै कागतीको बास्नाले मग मगाएको छ । छेउमै बाँके राष्ट्रिय निकुञ्ज भएकाले अन्य खेती गर्दा जङ्गली जनावरले नोक्सानी पुर्‍याउने हुँदा झग्गुले यो खेती रोजेको बताए । कागती खेतीले आम्दानी बढ्नुका साथै गाउँका युवालाई पनि रोजगारी दिएको ओलीले बताए ।

झग्गुले लगाएको ‘सुन कागती’ जातको माग बजारमा उच्च छ । माग धेरै भएकाले पनि उनलाई उत्पादन दिने समयमा समेत माग पूरा गर्न मुस्किल पर्ने गरेको छ । त्यहाँ उत्पादन भएको ‘सुन कागती’ नेपालगञ्ज, दाङ, पोखरालगायतका सहरमा जाने गरेको छ ।

उनका अनुसार कागतीमा कहिलेकाहीँ रोगले सताउँछ । समयमा ध्यान दिन सके कागती खेती धेरै राम्रो पेसा भएको अनुभव भएको छ । एकपटक रोपेको यो कागतीले २५ वर्षसम्म फल दिन्छ ।

कागतीको एउटै बोटमा २५ किलोदेखि डेढ क्विन्टलसम्म कागती फलेको ओलीको अनुभव छ । बजारमा कागती ८० देखि १५० रुपियाँ प्रति किलोसम्म विक्री हुने गरेको छ । एक हजार बिरुवा रोपेकोमा हाल उनको बारीमा ३०० बोट छन् ।

ओलीले गरेको खेती हेरेर राप्तीसोनारी वडा नं. १ मा हाल १० जनाले कागती खेती गरिरहेका छन् ।

  • २१ चैत्र २०७९, मंगलवार १८:१७ प्रकाशित
  • Nabintech