१६ चैत्र २०८०, शुक्रबार
खजुरा गाँउपालिकाले गर्यो कबड्डी खेलाडीलाई नगदसहित सम्मान
  • काँचुली खबर

१९ चैत्र, नेपालगन्ज । हालै इरानमा सम्पन्न विश्वकप जुनियर कबड्डी खेलमा तेस्रो स्थान प्राप्त गर्ने नेपाली टोलीका सदस्य इसरार खाँलाई बाँकेमा सम्मान गरिएको छ । खाँलाई खजुरा गाउँपालिकाले ५१ हजार रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो ।

खाँलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक (तुफान) र प्रमुख प्रशासकीय कार्यकारी अधिकृत अर्जुन सुवेदी लगायतले आईतबार नगदसहित सम्मान गरेका हुन ।

खाँ सहितको नेपाली कबड्डी टोलिले इरानमा सम्पन्न दोस्रो जुनियर विश्वकप कबड्डी च्याम्पियनसिपमा तेस्रो स्थान हासील गरेको थियो । खजुरा गाउँपालिका वडा नं. ७ मा स्थायी घर भएका खाँले नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै उक्त च्याम्पियनसिप खेलेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक (तुफान)ले खजुराको मात्र नभई राष्ट्रकै सम्पत्तिका रुपमा रहेका खाँले खेलकुदको माध्यमबाट राष्ट्रको नाम उच्च स्थानमा राखेकाले गाँउपालिकाले प्रोत्साहन स्वरुप सम्मान गरेको बताए ।

पुरस्कृत भएपछि खाँले पालिकाले भविष्यमा पनि यस्तै सहयोग र समर्थन गरेमा राम्रो प्रदर्शन गर्ने बताए ।

  • १९ चैत्र २०७९, आईतवार १८:२८ प्रकाशित
  • Nabintech