१६ चैत्र २०८०, शुक्रबार
बाँकेका ४ क्याम्पसमा मतदान जारी, बागेश्वरीमा ७८९ मत खस्यो
  • काँचुली खबर

चैत्र ५, कोहलपुर । बाँकेका चार वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मतदान जारी छ । पूर्व निर्धारित तालिकाअनुसार क्याम्पसहरुमा स्ववियुको नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको हो ।

कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ्ग क्याम्पस, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस र जन सिद्देश्वर बहुमुखी क्याम्पस हब्रहवामा निर्वाचन हुँदैछ ।

स्ववियुको चुनाव हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बाँकेका चारवटै क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सबै क्याम्पसहरुमा आवश्यकताको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

कुल ११९२ मतदाता रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा दिनको २ बजेसम्म प्रत्यक्षतर्फ ७८९ र समानुपातिक तर्फ ७८२ मत खसेको छ । मतदाता नामावलीमा नाम रहेका विद्यार्थीहरुले अपरान्ह ४ बजेसम्म आफ्नो क्याम्पसमा पुगेर मतदान गर्न पाउनेछन् ।

निर्वाचन हुन गइरहेका क्याम्पसमा विद्यार्थी संगठनहरु कतै सहकार्य र कतै प्रतिस्पर्धा गर्नेगरी चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरु आफू अनुकूल हुनेगरी गठबन्धन गरेर समेत चुनावी मैदानमा उत्रिएका हुन् ।

जिल्लामा स्ववियु निर्वाचन हुन लागेका पाँच क्याम्पसमध्ये चारबाट त्रिभुवन विश्वविद्यालय र एक मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पस रहेका छन् । यस क्षेत्रमै सबैभन्दा बढी विद्यार्थी संख्या रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भने चैत्र ८ गते स्ववियु निर्वाचन हुनेछ ।

  • ५ चैत्र २०७९, आईतवार १४:०४ प्रकाशित
  • Nabintech