आयोजक जय किसान स्पोर्टस फाइनलमा प्रवेश
  • काँचुली खबर

२६ माघ, नेपालगन्ज । कृष्ण क्षेत्रीले लगातार दोस्रो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

खजुरा गाउँपालिकाको वडा नम्बर १ स्थित मैटहवा माविमा भैरहेको प्रतियोगितामा जय किसानले खजुरा युनाइटेडलाई ३-० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा कृष्णले खेलको ५९औं मिनेट, ६९औं मिनेट र ८०औं मिनेटमा गोल गर्दै टोलीलाई फाइनलमा पुग्न योगदान गरेका छन् । यसअघि कृष्णले ह्याट्रिक गरेपछि बुधबार भएको क्वाटरफाइनलमा जय किसान स्पोर्टस क्लबले मोडल क्लबलाई ४-० ले सहजै पराजित गरेको थियो । अब माघको २९ गते हुने प्रतियोगिताको फाइनलमा जय किसान स्पोर्टस क्लबले सहारा क्लब इन्डिया र बागमती स्पोर्टस क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोस्रो सेमिफाइनलमा सहारा र बागमती बिच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिकगोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।

  • २६ माघ २०७९, बिहीबार २१:३६ प्रकाशित
  • Nabintech