८ बैशाख २०८१, शनिबार
कोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनकालागि नगरपालिका र समितीबीच सम्झौता
  • काँचुली खबर

मंसिर २०, कोहलपुर । कोहलपुर नगरपालिका र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिती बिच एउटा महत्त्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीको “जनताको रहर हरित सहर” कार्यक्रम अन्तर्गत कोहलपुरमा सडक हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि समितीसँग सम्झौता गरिएको नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले जानकारी दिए ।

उक्त सम्झौतासँगै कोहलपुर नेपालगन्ज सडकखण्डको साझा चोकदेखि हाईस्कुलसम्मको सडक डिभाइडरमा रेलिङ्ग सहित बृक्षारोपण गरि सडक हरियाली र सौन्दर्य प्रवर्द्धन गरिने छ । त्यसका लागि राष्ट्रिय गौरवको आयोजना राष्ट्रपति चुरे-तराइ मधेस संरक्षण विकास समितीले कोहलपुर नगरपालिकालाई तीस लाख रुपैया सहयोग गर्ने भएको छ । बाँकी अपुग रकम कोहलपुर नगरपालिका आफैले ब्यहोर्ने सहमति पनि भएको नगर प्रमुख आचार्यले जानकारी दिए ।

सम्भाब्यता आँकलन, निरीक्षण र स्थान छनौट प्रकृया पुरागरी कार्यक्रम गर्ने सहमती बनेको हो । कार्यक्रम चालू आर्थिक वर्षबाटै कार्यान्वयनमा आउने छ । राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितीका कार्यकारी सदस्य भेषराज आचार्यले जनताको रहर हरित सहर बनाउने अभियान अन्तर्गत नगरपालिकासँग सहकार्य गरिएको बताए ।

सम्झौता हस्तान्तरण कार्यक्रममा राष्ट्रपति चुरे-तराइ मधेस संरक्षण विकास समिती, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका प्रमुख भरत भट्ट, साइड इन्चार्ज सुरज थापा, नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम ढकाल लगायतको सहभागीता रहेको थियो ।

  • २० मंसिर २०७९, मंगलवार २१:०३ प्रकाशित
  • Nabintech