१३ बैशाख २०८१, बिहीबार
नवौं राष्ट्रिय खेलकुद : एपीएफको विजयी सुरुआत
  • काँचुली खबर

असोज २५, काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको छ ।

बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफको जितमा रोमा थापाले २२ तथा ममता चौधरीले १७ रन बनाईन् । नेरी थापाले अविजित १६ बनाउँदा कप्तान सिता राना मगरले १६ रन बनाईन् ।

बागमतीका लागि सुमन खतिवडा र सोनी पाख्रिनले २ तथा कप्तान अस्मिना कर्माचार्यले १ विकेट लिए । त्यस अघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले अविजित १९ तथा सुमन खतिवडाले समेत १९ रन बनाईन् ।

बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपाल एपीएफ क्लबले २० रन अतिरिक्तमा खर्चिएको थियो ।

एपीएफका लागि रेखा रावल, नेरी थापा र ईन्दु बर्माले समान १/१ विकेट लिएका थिए । जितसँगै एपीएफ २ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बागमतीले शीर्ष स्थान पुग्ने अवसर गुमाएको छ ।

बागमती २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।

  • २५ आश्विन २०७९, मंगलवार १५:३६ प्रकाशित
  • Nabintech