७ जेष्ठ २०८१, सोमबार
कुनै पनि हालतमा सैन्य सम्झौता हुँदैन : प्रचण्ड
  • काँचुली खबर

२ असार, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता कुनै हालतमा अघि नबढ्ने घोषणा गरेका छन् । दोलखका माओवादी नेता रितबहादुर खड्काको स्मृति पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

प्रचण्डले पूर्ववर्ती सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताए । सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको उनले बताए । तर, अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो सम्झौतामा कुनै पनि हालतमा हस्ताक्षर नगर्ने बताएको उन उल्लेख गरे ।

‘राष्ट्रवादको पाखण्डी प्रचार गरेको हामीले हिजो पनि देखेको छ । एसपीपी हुँदैछ रे भनेर प्रचार गर्‍या छ,’ प्रचण्डले भने, ‘त्यो बिल्कुल झुटो हो त्यो । त्यस्तो कुनै सम्झौता भएको छैन । त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन । म घोषणा गर्न चाहन्छु । प्रधानमन्त्रीज्युले कुनै पनि हालतमा त्यस्तो सम्झौतामा जान्न भनेर कमिटमेन्ट गरिसक्नु भएको छ । कोही भ्रममा पर्नुपर्दैन । बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको इतिहास छ ।’

उनले एसपीपीबारे जनतामा भ्रम छर्ने काम भइरहेको बताएका थिए । उनले यस्तो कुरामा गठबन्धन कुनै हालतमा नलाग्नेसमेत बताए । उनले अहिलेको गठबन्धन राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने बताए । ‘यो कुरा सबैले बुझ्न जरुरी छ । तर हाम्रो गठबन्धन त्यस्तो कुरामा लाग्दैन। हामी नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन्छ,’ प्रचण्डले भने ।

उनले गठबन्धन भएपछि प्रतिगमन परास्त भएको टिप्पणी पनि गरे । प्रचण्डले स्थानीय निर्वाचन सम्पन्न गरेर संविधानको रक्षा आफूहरूले गरेको दाबी गरे । ‘गठबन्धन गरेपछि प्रतिगमनको प्रवृत्ति परास्त भयो,’ उनले भने, ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ, मैले प्रतिनिधिसभामा बोल्दा भनेको छु, यो निर्वाचनमा हाम्रो लागि र माओवादी केन्द्रको अध्यक्षको हैसियतले कुन पार्टीले कति जित्यो भन्ने ठूलो कुरा होइन ।’

  • २ असार २०७९, बिहीबार ११:५८ प्रकाशित
  • Nabintech