७ बैशाख २०८१, शुक्रबार
प्रेस सेन्टरद्वारा चार वरिष्ठ पत्रकार पुरस्कृत
  • काँचुली खबर

१३ जेठ, काठमाण्डौं । पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृति दिवशको अवसरमा चार जना पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा शुक्रबार काठमाडौंमा प्रेस सेन्टर नेपालद्वारा आयोजित स्मृति कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

इच्छुकसँगै काम गरेका जनपक्षीय पत्रकारिताको नेतृत्व गर्दै प्रेस सेन्टर नेपालका संस्थापक संयोजक र संस्थापक एवं पूर्वअध्यक्षलाई ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट र लामो समयदेखि जनपक्षीय पत्रकारिता गर्दै आएका दुईजनालाई ‘शक्ति-तारा स्मृति पुरस्कार’बाट सम्मान गरिएको हो ।

कार्यक्रममा ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार २०७८’बाट पत्रकार गोविन्द आचार्य र ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार-२०७९’बाट महेश्वर दाहाललाई पुरस्कृत गरिएको छ ।

यस्तै, ‘शक्ति-तारा स्मृति पुरस्कार-२०७८’बाट पत्रकार बलराम थापा र ‘शक्ति-तारा स्मृति पुरस्कार २०७९’बाट लक्ष्मी पुनलाई सम्मान गरिएको हो । यसअघि कृष्णसेन स्मृति पुरस्कार ओम शर्मा, किशोर श्रेष्ठ, चन्द्रमान महर्जन, निमबहादुर बुढाथोकी, खिलबहादुर भण्डारी, सूर्य थापालगायत पुरस्कृत भइसकेका छन् ।

गोविन्द आर्चाय

‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गोविन्द आचार्य नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन् । उनी तीन दशकदेखि निरन्तर पत्रकारिता सक्रिय छन् । प्रेस सेन्टर नेपालको संस्थापक समेत रहेका आचार्यले संस्थाको नेतृत्वमात्रै नभएर नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको पनि नेतृत्व गरेका छन् ।

२०४४ सालमा कृष्ण सेन इच्छुकले संगठित गरेर अभियानमा लागेका आचार्यले २०४९ मा जनादेश साप्ताहिकमार्फत पत्रकारिता सुरु गरेका हुन् । त्यसपछि उनले ०५४ सालमा त्यही पत्रिकाको कार्यकारी सम्पादक र ०५८ सालमा कृष्णसेन पछिको सम्पादकका रुपमा काम गरे । पत्रकार महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष, प्रेस काउन्सिल नेपालको सदस्य, प्रधानमन्त्रीको प्रेस सल्लाहकारसमेत भइसकेका आचार्यले मातृभूमि, जनदिशालगायतका पत्रपत्रिकाको सम्पादकीय नेतृत्व गरिसकेका छन् ।

महेश्वर दाहाल

‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार-२०७९’बाट पुरस्कृत महेश्वर दाहआल प्रेस सेन्टर नेपालका संस्थापक संयोजक हुन् । २०४५ सालमा योजना साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका उनले नेपालबाट प्रकाशित हुने जनादेश, जनदिशालगायत झण्डै एक दर्जन पत्रपत्रिकाको नेतृत्वमात्र नगरेर भारतबाट प्रकाशित हुने नेपाली पत्रिकाको पनि सम्पादकीय नेतृत्व गरेर जनपक्षीय पत्रकारितामा ठूलो योगदान गरेका छन् ।

उनी प्रेस सेन्टर नेपालको संस्थापक संयोजक, पूर्वअध्यक्षमात्रै नभएर नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकीकरणपछि बनेको प्रेस संगठन नेपालको समेत झण्डै तीन वर्ष संयोजक बने ।

बलराम थापा

‘शक्ति-तारा स्मृति पुरस्कार-२०७८’बाट पुरस्कृत बलराम थापा लामो समयदेखि जनपक्षीय पत्रकारिता गर्दै आएका छन् । २०४८ सालमा आँकुरा साहित्यिक पत्रिकाको सम्पादक मण्डलमा आवद्ध भएर पत्रकारिता सुरु गरेका उनले चौतारी मासिक, पौरख, नयाँ जनवाद मासिक, प्रत्याक्रमण, महिमा, जनजला, जनादेशलगायतका पत्रपत्रिकाको सम्पादकीय नेतृत्वमा रहेर काम गरेका छन् ।

प्रेस सेन्टर नेपालको स्थापनापहिले उनले जनपक्षीय पत्रकार संघ २०५४ र प्रगतिशील पत्रकार समूह २०५१ को संस्थापक सदस्यको रुपमा समेत काम गरेका थिए ।

लक्ष्मी पुन

‘शक्ति-तारा स्मृति पुरस्कार-२०७९’बाट पुरस्कृत लक्ष्मी पुनले २०५६ सालमा भारतको गोवाबाट प्रकाशित हुने भास्को इन्साइडबाट पत्रकारिता सुरु गरेकी हुन् । त्यसपछि उनले रेडियो जनगणतन्त्र मगरात प्रसारण केन्द्रमा काम गरे ।

जनउभार, जनसन्देश, नेपाल टेलिभिजन, द वाल्करलगायतका सञ्चारमाध्यममा काम गरिसकेकी लक्ष्मी पुन प्रेस सेन्टर नेपालको पूर्वपदाधिकारी मात्र नभएर नेपाल पत्रकार महासंघको निवर्तमान सचिवसमेत हुन् ।

  • १३ जेष्ठ २०७९, शुक्रबार १६:३२ प्रकाशित
  • Nabintech