१३ बैशाख २०८१, बिहीबार
नेकपा हुँदा त्यो गति, एमाले हुँदा कुन गति ?
  • काँचुली खबर

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले धरान उप-महानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेस मेयर पदका उम्मेद्वारलाई करिव पाँच हजार मतले हराएको थियो । नगरका मेयर तारा सुब्बाको मृत्युपछि ०७६ मा उप-निर्वाचन भयो । यो चुनावमा कांग्रेसका उम्मेद्वारले करिब तीन हजार मतले एमाले उम्मेद्वारलाई हराए । ०७४ को पहिलो स्थानीय निर्वाचनमा एमाले एक्लैले मेयरमा २० हजार नौ सय ७५ मत ल्याएर विजयी भएको थियो । कांग्रेसले १६ हजार एक सय दुई मत ल्याएर पराजित भयो । प्रमुख पार्टीहरुबीच गठबन्धन नभएको यो चुनावमा माओवादी केन्द्र मेयरका प्रत्यासीले ११ हजार एक सय दुई मत प्राप्त गरेका थिए ।

तर उप-निर्वाचन हुँदा माओवादी र एमालेको एकीकरण भएर नेकपा बनिसकेको थियो । नेकपाको केन्द्र र प्रदेशमा सरकार पनि बनेको थियो । त्यसबखत भएको चुनावमा कांग्रेस मेयरका उम्मेद्वारले २६ हजार सात सय नौ मत ल्याएर विजयी भए । नेकपाका उम्मेद्वार २३ हजार नौ सय १४ मत मात्र प्राप्त गरेर पराजित भए । माओवादी र एमाले एकीकरणपछि नेकपाको सोझो मतको हिसाब ३१ हजार हाराहारीमा हुन्थ्यो । तर, जीत एक्लै उठेको कांग्रेसको पक्षमा गयो ।

यस्तै भक्तपुर प्रदेशसभाको उप-निर्वाचनमा नेकपाको उम्मेद्वार पराजीत भए । त्यसअघि त्यहाँ पनि एमाले-माओवादी गठबन्धनले सहजै जीत हासिल गरेको थियो । त्यहाँ पनि नेकपाको मत कांग्रेसको तुलनामा हजारौंमा फरक थियो ।

साठी वर्षपछि धरानको धरहरा

उप-चुनावमा धरान नगरको निर्वाचन परिणाम त आश्चर्यजनक नै भयो । २०१७ सालदेखि नै कम्युनिष्टहरुले बर्चस्व राख्दै आएको नगर चुनावमा कांग्रेसले जित्नु अनौठो नै थियो । अझ केरला र संघाइको उप-नामले चिनिने धरानको धरहरा ढलेको थियो । पञ्चायतकालमा समेत कम्युनिस्ट पार्टीको समर्थनमा ‘जनपक्षीय’ उम्मेद्वारहरुले मात्रै जित्दै आएको धरान नगर हो । सत्रसालको पहिलो निर्वाचनमा केदारनाथ खनाल मेयर भएदेखि ०७४ मा तारा सुब्बासम्म आउँदा कम्युनिस्टको बर्चस्व छ दशक वितिसकेको छ । एकाध पटक नगरमा पञ्चहरुले जितेको भए पनि कम्युनिस्ट पार्टीले चुनावमा भाग नलिएको बेलामा मात्र हो ।

बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि सबै संसदीय निर्वाचनमा एमालेले जितेको निर्वाचन क्षेत्र हो । पहिलो संविधानसभामा माओवादी केन्द्रले, दोस्रो संविधानसभा निर्वाचनमा एमालेले विजय हासिल गरेको थियो । यी चुनावमा एमाले र माओवादीले छुट्टाछुट्टै उम्मेद्वारी दिएको भए पनि पहिलो पटक वाम मतदाताले माओवादी छाने, दोस्रोमा एमाले । तर कम्युनिस्ट ‘ट्रेड मार्क’ भएका बाहेकलाई मतदाताले कहिल्यै गनेका थिएनन् । पछिल्लो मतपरिणाममा वामपन्थीहरुको यी परम्परागत गढ ढल्नुको पछिको रहस्य रहस्यमात्र होइन । वामपन्थी र दक्षीणपन्थीमा फरक नहुनु यसको पहिलो र अन्तिम परिणाम हो ।

हास्यास्पद दावी :

धरान र भक्तपुरको उपचुनावको नतिजा नै आवधिक निर्वाचनमा देखिने परिदृश्य हो । जबसम्म वामपन्थीहरु खुइलिएर दक्षिणपन्थी रंगमा रंगिरहन्छन् आउने परिणाम पनि त्यस्तै हुन्छ । यसैबीच हालै एमालेको केन्द्रीय कमिटी बैठकको प्रदेश स्तरीय प्रस्तुतिमा एमालेले मधेस प्रदेशबाहेक तीन सय ४४ स्थानीय तहमा एमालेले एक्लै जित्ने दावी ग¥यो । यसअघि सग्लो र विभाजित नभएको एमालेले दुई सय ९४ स्थानीय तहमात्र जित्न सफल भएको थियो । सात सय ५३ स्थानीय तहमा मधेस बाहेक तीन सय ४४ सीट प्राप्त हुन्छ भन्नु मधेससहित पचास प्रतिशत स्थानीय तह ल्याउने दावी हो ।

यतिखेर एमालेको विभाजन मात्र होइन वैचारिक विचलन र सांगठानिक विघटन पनि भइसकेको छ । एमालेलाई हराउन यसको विभाजन नै काफी छ । नेकपा (एकीकृत समाजवादी)को गठन एमालेको पराजयको मुख्य आधार हो । गठबन्धन, तालमेल, वैचारिक विचलन, नश्लीय सोच समझ अरु आधार हुन । वाम नामीले राम नामीलाई मत दिने आधार हुन्न । यता शुद्ध दक्षिणपन्थी पार्टीहरुसंगको तालमेलमात्र एमालेको जित्ने आधार हो । यो तालमेलमा पनि घुनपुतली लागे एमालेको यात्रा प्रजापरिषद्को नियति हुनेछ । यसर्थ यो दावी एमालेको हकमा हास्यास्पद, अतिरञ्जित र सोम शर्माको कथामा आधारित छ । गत निर्वाचन नतिजाको गणितको आधारमा एमाले भविश्यको राशीफल त धरान र भक्तपुरकै जस्तो दूर्घटनाग्रस्त हुनेछ । नेकपा हुँदा त्यो गति फुटेको, स्खलित भएको एमालेको त दुर्गति नै हुनेछ ।

गठबन्धन भए सोत्तर :

एमालेको चुनावमुखी बैठक र सक्रियता निर्वाचनमा आउने परिणामबाट आतंकित मुडमा भएको देखिन्छ । जनताको लहरमा एमालेको पकड खुस्किसकेको छ । कार्यकर्ताको मनोबलमा उम्मेद्वार चयन गरेपछि अरु बढी बबण्डर आउने निश्चित छ । केपी शर्मा ओलीले ‘जित्न सक्ने’लाई मात्र उम्मेद्वार बनाउने आदेश जारी गरिसकेका छन । जित्न सक्ने भनेको खर्चबर्च गर्न सक्ने ‘मनी, मसल र माफियायुक्त’ वाहुवली उम्मेद्वार हुन । यसैले विजय सरावगी, वगडियाहरुसहित अनेकौं जित्न सक्ने उम्मेद्वारलाई सिन्दूर-पोते गरी पार्टीमा प्रवेश गराउन ओलीको दैनिकी बनेको छ । एमालेजनले यस्तै ‘जित्न सक्ने’ उम्मेदवारलाई जिताएर त्याग र राजनैतिक बलिदान दिनु पर्नेछ । गठबन्धन भए सोत्तर हुने डरले नै जित्न सक्ने फर्मुला ओलीले ल्याएको हो । यो फर्मुला बाहेक एमालेको अस्तित्व रक्षा गर्ने कुनै आधार देखिन्न ।

  • १५ चैत्र २०७८, मंगलवार २०:०७ प्रकाशित
  • Nabintech