१६ चैत्र २०८०, शुक्रबार
पुरातात्विक सामग्री चोरी गर्ने दुई पक्राउ
  • काँचुली खबर

पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई काठमाडौं महानगरपालिका-२६ केशरमहलबाट बुधबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका-३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं केशरमहल बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका-११ घर भएका ३६ वर्षीय बीर बहादुर सुनार रहेको प्रहरीले जनाएको छ ।

२०७२ सालको बिनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलिकरणको कार्य भइरहेको केशरमहलभित्र केशर पुस्तकालयको ठुलो कोठाभित्र सङ्कलन गरी राखिएको पुरातात्विक महत्वको अस्थाई रूपमा सूचिकरण गरिएको बाघको टाउकोको नम्बर २६, २ थान तरवार समेत चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका-२६ केशरमहलमा बोरामा राखी फालेको अवस्थामा २ थान तरवार र ३ किलो तौल भएको बाघको टाउको जस्तो देखिने १ थान बस्तु बुधबार दिउँसो फेला पारेको थियो । थप अनुसन्धानको क्रममा उक्त सामग्रीहरु चोरी कार्यमा संलग्नमध्ये उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौं पठाइएको तथा चोरीमा संलग्न हाल फरार रहेका अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ ।

  • ६ माघ २०७८, बिहीबार १७:०५ प्रकाशित
  • Nabintech