१६ चैत्र २०८०, शुक्रबार
बाँके प्रहरीद्वारा ६ महिनामा ९ करोड बढीको राजस्व संकलन
  • काँचुली खबर

बाँके प्रहरीले बितेको ६ महिनामा ९ करोड बढीको राजस्व संकलन गरेको छ । प्रहरीले भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६०८ रुपैयाँ, सुन तस्कर कारवाहीबाट ३ करोड १३ लाख ९७ हजार ६७५ रुपैयाँ, ट्राफिक कारवाहीबाट १ करोड १२ लक्ख ३४, हजार ५०० रुपैयाँ, नदिजन्य पदार्थ उत्खननबाट ३ लाख ३० हजार रुपैयाँ, जुवातास कारवाहीबाट ९ लाख ५१ हजार ६१० रुपैयाँ, काठ तस्कर कारवाहीबाट ६ लाख ५३ हजार ९०० रुपैयाँ, क्वारेन्टाईन नगराईएका कुखुरा तथा माछामासुबाट कारबाहीबाट  २० लाख रुपैयाँ र फरार अभियुक्तबाट ३७ लाख ९९ हजार ५१४ रुपैयाँ जरीवाना गरी बाँके प्रहरीले यो अवधिमा कुल ९ करोड ३९ लाख ९३ हजार ८०७ रुपैयाँ राजस्व संकलन गरेको हो । गत आर्थिक बर्षको पहिलो ६ महिनामा प्रहरीले २ करोड ७५ लाख ३४ हजार ७३८ रुपैयाँ राजस्व संकलन गरेको प्रहरीको तथ्यांकमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार पत्रकार भेटघाट मार्फत चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा गत असारमा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी प्रहरी प्रमुखको रुपमा सरुवा भै आएपछि उनको कार्यकालको यो आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो ।

प्रहरीले बितेको यो ६ महिनामा विभिन्न मुद्दाका १३९ जना फरार अभियूक्त पक्राउ गरेको जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधूसुदन न्यौपानेका अनुसार विभिन्न मुद्दाका १३९ जना फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुको कुल ६४ बर्ष १० महिना कैद रहेको र उनिहरुबाट ३७ लाख ९९ हजार ५१४ रुपैयाँ जरिवाना असुल गरेको छ ।

त्यसैगरी, २६५ ग्राम ६१० मिलिग्राम ब्राउनसुगर, ४ किलो ३७५ ग्राम चरेश, ३५४३ ट्याव्लेट नाईट्राजेपाम ६ हजार मिलिलिटर कोरेक्स, २० ग्राम गाँजा, १४३० ट्याव्लेट ट्रमाडोलसहित ८८ जना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ । उनिहरुको साथबाट ५ लाख ११ हजार नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीले यो ६ महिनाको अवधिमा नेपालगंज विमानस्थलबाट ४ किलो २९.१९ ग्राम सुनसहित दुई जना सुन तस्करलाई पक्राउ गरेको छ । जसको बजार मूल्य ३ करोड १३ लाख ९७ हजार ६७५ रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, सुन भनि सुन जस्तो नक्कली धातु देखाई १५ लाख रकम लिई ठगी गर्ने दुई व्यक्तिलाई पनि पक्राउ गरी अनुसन्धान गरीरहेकोछ । प्रहरीले भन्सार चोरी पैठारीमा २७ जना तस्कर पक्राउ गरी भन्सार कार्यालय बुझाएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा प्रहरीले १ करोड बढी भन्सार राजस्व संकलन गरेको जनाएको छ ।

२० लाख मूल्य बराबरको भारतबाट अवैधरूपमा भित्र्याईएको बोईलर कुखुरा, चल्ला, मासु, माछा सहित ७ जना लाई पक्राउ गरी क्वारेन्टाईन कार्यालय बुझाएको, बाघको छाला ३, रेडपाण्डाको छाला १, भालुको पित्त ४, हात्तीको दाँत २ सहित १० जना लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बुझाईएको । साढे ६ लाख मुल्य बराबरको अबैध सालको काठसहित ३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

कटुवा पेस्तोल ३, एयरपेस्तोल १, भरुवा भन्दुक १, सोमा लाग्ने छर्रा ३ सहित ४ जना लाई पक्राउ गरी कारबाही गरिएको र हालसम्म कुल ५३७ मुद्दामा ६७४ जनालाई पक्राउ गरी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

हारजित हुने गरी जुवा तास खेल्ने ६१ जना जुवाडेलाई पक्राउ गरी कारबाही गरिएको उनिहरुको साथबाट ९ लाख ५१ ह्जार ६१० रुपैयाँ बरामद गरिएको, नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ टिप्पर, १० टेक्टर नियन्त्रणमा लिई आवश्यक कारबाही लागि सम्बन्धित जिल्ला समन्वय समिति/न.पा./गा.पा.मा पठाई सोबाट ३ लाख ३० हजार बराबरको राजश्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नेपालगंज तथा कोहलपुर एरियाका बिभिन्न होटलहरुमा यौन व्यवसाय संचालन गर्ने, आगन्तुहरुलाई दु:ख हैरानी दिने १६ वटा होटल, रेष्टुरामाथि आवश्यक छानविन गरी संलग्न ५ वटा होटल तथा रेष्टुराका संचालकसहित ११ जना महिला र ८ जना पुरुष गरी १९ जनालाई पक्राउ गरी कारबाही गरिएको, ट्राफिक नियम उलंघन गरी सवारी चलाउने २० हजार ५३५ सवारी साधनलाई कारबाही गरी १ करोड १२ लाख ३४ हजार ५०० राजश्व संकलन गरिएको, जिल्लाका बिभिन्न स्थानहरुबाट चोरी भएका ३ वटा स्कुटी र ११ वटा मोटरसाईकल बरामद गरी सवारी साधन चोरी कार्यमा संलग्न १७ जना लाई कारबाही गरेको छ ।

  • ४ माघ २०७८, मंगलवार १६:०८ प्रकाशित
  • Nabintech