८ बैशाख २०८१, शनिबार
आज पुस १५ ‘तमू ल्होसार’, विभिन्न कार्यक्रम गरी मनाइदै
  • काँचुली खबर

आज तमू (गुरुङ) समुदायले आफ्नो महान् चाड तमू ल्होसार विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन । गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यस बर्ष गाई बर्ग (बर्ष) लाई बिदाई गरी बाघ बर्ग (बर्ष) लाई स्वागत गरी गुरुङ समुदायले तमू ल्होसार पर्व मनाउँछन ।
एउटा बर्ग (बर्ष) गएर अर्को बर्ग (बर्ष) आउने भएकाले गुरुङ समुदायले ल्होसारलाई नयाँ बर्षका रुपमा पनि मान्छन । गुरूङ समुदायको बोलीचालीको भाषामा ल्होत्वोवा भनिन्छ । ल्हो (वर्ग) त्वोवा (फर्किनु) अथवा वर्ग फर्किनु पनि भन्ने गर्दछन् । अर्थात्, गुरूङ समुदायको प्ये (शास्त्र) अनुसार गुरूङ समुदायले प्रयोग गर्ने १२ वटा वर्गहरु क्रमानुसार प्रत्येक बर्षको पुष १५ मा परिवर्तन हुने वा फर्की आउने र नयाँ वर्गको सुरूवात हुने भएकोले आजको दिनलाई ल्होसार अर्थात नयाँ वर्षको रुपमा मनाइन्छ ।
गुरुङ समुदायको साँस्कृतिक मान्यता अनुसार गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ वटा बर्गहरु हुन्छन ।
आजदेखि सूर्य उत्तर दिशाबाट दक्षिण पुगी उत्तरतिर फर्कन्छ, जुन बेला पृथ्वीमा सबैभन्दा रात लामो र दिन छोटो हुन्छ । सूर्यले पृथ्वीलाई परिक्रमा गरेर १२ महिना पुग्छ र एउटा ल्हो (वर्ग) ले समय बिताएको हुन्छ । प्रत्येक १/१ वर्षमा क्रमानुसार १/१ वटा ल्हो (वर्ग) पार गर्दै पछि १२ वर्ष पूरा भएपछि पुनः सोही ल्हो (वर्ग) को सुरूवात हुन्छ । यसरी गुरूङ समुदायको ल्हो (वर्ग) पद्धति प्रकृतिको नियम र सिद्धान्तसँग मेल खान्छ । जसअनुसार ल्होसार मनाउने संस्कृतिलाई वैज्ञानिक र सत्यतानजिक रहेको भन्ने तर्क गरेको पाइन्छ । ज्योतिष शास्त्रअनुसार पनि पृथ्वीमा सबैभन्दा लामो दिन र छोटो रात असार १५ लाई मानिन्छ । त्यस्तै सबैभन्दा लामो रात र छोटो दिन पुष १५ लाई मानिन्छ ।
यो पर्व देश तथा विदेशमा रहेका सबै तमूहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन । आज काठमाडौंको टुँडिखेलमा तमू ल्होसार २०७८ मूल आयोजक समितिले आयोजना गरेको कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन । सरकारले आज देशभर तमू ल्होसारका अवसरमा सार्वजनिक बिदा पनि दिएको छ ।

  • १५ पुष २०७८, बिहीबार ०६:५४ प्रकाशित
  • Nabintech