१४ बैशाख २०८१, शुक्रबार
‘ल्होसार’ खर्च कटाएर गुरुङ दम्पतीद्वारा वृद्धा आश्रमलाई खाद्यान्न तथा नगद सहयोग
  • काँचुली खबर

गुरुङ समुदायको ठुलो चाड ‘तमु ल्होसार’ मा गरिने खर्च कटाएर नेपालगन्जका एक गुरुङ दम्पतीले वृद्धा आश्रमलाई खाद्यान्न सामग्री तथा नगद सहयोग गरेका छन ।
नेपालगन्जको धम्बोझी चोक खजुरा रोडमा बर्षौदेखि ‘गुरुङ रेस्टुरेन्ट’ संचालन गर्दै आएका नन्दबहादुर गुरुङ र मन्जु गुरुङ दम्पतीले बुधबार नेपालगन्जको एक वृद्धा आश्रमलाई खाद्यान्न सामग्री र नगद सहयोग गरेका हुन ।
‘भोलि पुस १५ गते हाम्रो महत्वपूर्ण चाड ‘तमु ल्होसार’ हो, ल्होसार पर्वमा आफन्त, इष्टमित्रहरु भेला भइ जाँड रक्सी माछा मासु जस्ता पदार्थहरु खाने प्रचलन छ ।’ – गुरुङले भने । त्यस्ता पदार्थहरु खाएर मातिनु भन्दा ल्होसारमा कम खर्च गरी अनावश्यक फजुल खर्च गर्ने पैसाबाट आफुले वृद्धा आश्रममा बस्ने बाबा आमाहरुलाई खाद्यान्न सहयोग गरेको उनले बताए ।

‘रेस्टुरेन्टमा बिहानैदेखि रातीसम्म काम गर्नु पर्छ । अरुले खाएका जुठा भाँडाहरु माझ्नु पर्छ ।’ गुरुङ श्रीमती मन्जु गुरुङले भनिन ‘यस्तो दु:ख गरेर कमाएको पैसा चाडबाडको नाममा जाँड रक्सी खाएर अनावश्यक रमाइलो गरेर खर्च गर्नु भन्दा असहाय बाबा आमाहरुलाई सहयोग गर्न पाउँदा मनमा आनन्द छाएको छ र मन खुशी भएको छ ।’
गुरुङ दम्पतीले बुधबार नेपालगन्जको निलसागर सेवाश्रमलाई चामल, दाल, तेल, नून, मसला, बिस्कुट, चिया, चिनी, दूध, आलु, काउली, टमाटर लगायतका खाद्यान्न तथा तरकारीजन्य सामग्री, फलफूल र नगद रकम सहयोग गरेका हुन । नगद ४ हजार र खाद्यान्न सामग्री गरी उनिहरुले आश्रमलाई १६ हजार बढीको सहयोग गरेका हुन ।
उक्त सेवाश्रमले विभिन्न दाताहरुबाट प्राप्त हुने त्यस्ता खाद्यान्न तथा नगद सहयोगले सडक सहयोगापेक्षी, बेवारिसे, अनाथ, अशक्त तथा ज्येष्ठ नागरिकहरुको पालनपोषण तथा स्याहार सुसार गर्दै आएको छ ।

  • १४ पुष २०७८, बुधबार २०:२९ प्रकाशित
  • Nabintech