१६ चैत्र २०८०, शुक्रबार
खोप नलगाएकाहरुको खोजी गर्दै नेपालगन्ज उपमहानगरपालिका
  • काँचुली खबर

नगरवासीले कोभिड – १९ बिरुद्धको पुर्ण खोप लगाए/नलगाएको बारेमा जानकारी लिन यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले प्रत्येक घर घरमा पुगेर सर्वेक्षण अभियान शुरु गरेको छ ।
एसडिएफ बाँके गैर सरकारी संस्थाको सहयोगमा १८ बर्ष माथिका सबै नगरबासीहरुलाई कोरोना बिरुद्धको पुर्ण खोप लगाइदिने अभियान अनुसार जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहितको टिमले नगरका घर घरमा पुगेर खोप लगाए/नलगाएको बारेमा सर्वेक्षण गरी खोपको पहुँचमा आउन नसकेका घर/समुदाय/ क्षेत्रलाई पुर्ण खोप बनाउने अभियान संचालन गरेको स्वास्थ्य शाखा कोभिड फोकल पर्सन राजन शाहीले जानकारी दिए ।
खोप नलगाएकाहरुको पहिचान गरी उनिहरुलाई पुर्ण खोपको पहुँचमा ल्याउन अभियान संचालन गरिएको उनले बताए ।
पुर्ण खोप लगाउनमा कमजोर देखिएका वडाहरुको पहिचान गरी हाललाई ती वडामा मात्र बिशेष पहल गरिएको छ । पुर्ण खोपको पहुँच भित्र आउन नसकेका, लक्षित गरिए अनुसार पुर्ण खोप लगाउन नसकिएका र लक्ष्य हासिल गर्न नसकिएका वडाहरु ३, ११, १५ र २१ नम्बरमा हाल यो अभियान संचालन गरिएको र पछी अन्य सबै वडामा संचालन गरिने शाहीले जानकारी दिए ।

ती वडाका खोप नलगाएकाहरुलाई गत पुस १ गतेबाट वडा नम्बर २ को हनुमानगढीमाई मन्दिर गौशालामा खोप केन्द्र संचालन गरी खोप लगाइदै आएको उनले बताए । यो अभियान पुस महिना भरी जारी रहनेछ ।
नगर स्वास्थ्य शाखाले घर घरमा पुगेर घरका सबै सदस्यले खोप लगाएकाको घरमा हरियो स्टिकर, आधा सदस्यले मात्र लगाएकाको घरमा पहेलो स्टिकर र घरका कुनैपनि सदस्यले नलगाएकाको घरमा रातो स्टिकर टाँसेको छ ।
खोप अभियान पनि संचालन गर्दै लैजाने र १० दिन भित्रमा पुनः ती घरहरुमा अनुगमन गरी स्टिकर परिवर्तन गर्ने स्वास्थ्य शाखाले जनाएको छ ।
तथ्यांकअनुसार नेपालगंज उपमहानगरपालिकाको कुल जनसंख्या १७८९८१ रहेको छ । खोप लगाउने १८ बर्ष माथिका लक्षित समूह ११७३७७ रहेको छ । जसमध्ये, पहिलो डोज (खोप) लगाएका ८५३२२ (७२%), पूर्ण खोप लगाएका ६५७४८ (५६%), ड्रप आउट रेट : १९५७४ (२२%) र कुनै पनि खोप नलगाएका ३२०५५ (२८%) रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

  • ४ पुष २०७८, आईतवार २०:११ प्रकाशित
  • Nabintech