१३ बैशाख २०८१, बिहीबार
पवित्र धाम : ‘कुमाँखी सिद्ध’ !
  • काँचुली खबर

हाम्रो देश नेपाल प्रदेश नं. ६ अन्तर्गत सल्यान जिल्लामा अवस्थित चर्चित पहाड कुमाँखको विषयमा अनुसन्धान गर्दै जाँदा परापूर्वकालमा त्यस पहाडको शिरमा एक सिद्ध शिवशक्ति स्वरुपले बस्ने गरेका रहेछन । जुन शिरलाई उहिले पवित्र धाम भन्ने गरीएछ । त्यही शब्द अपभ्रंश हुँदै कालान्तरमा ‘थाम’ भन्न थालियो । थाममा कुँमाखी सिद्धको आश्रय थियो । आश्रमको नजिकै पानीको मुल भएको स्थानमा अहिले पनि पानी भईरहेको कुरा सर्वविधितै छ । त्यहीं मुलमा सिद्धले स्नान गरी आफ्नो नित्य कर्म, पुजा, ध्यान, जप गर्दथे । त्यसैबेलादेखी मानिसहरुले थाममा गएर सिद्धको दर्शन गर्ने, फुलपाती चढाउने र गाईको काँचो दुधले धारा दिई आफुले चाहेको कुरा वर माग्ने प्रचलन सुरु भयो । जुन अध्यावधि कायमै छ । साँढो बली दिने प्रथा पनि अघिदेखी चल्दै आएको हो । भक्तहरुदेखि प्रशन्न भएर सिद्धले तथास्तु भनि वरदान दिन्थे र ईच्छा सिद्धि हुने कुरामा जन विश्वास बढ्दै गयो ।

कुमाँखको टाकुरा जहाँ सिद्धले स्नान गर्ने मुल हो, त्यहाँ स्नान गरेको पानी (जल) उनको शरीरबाट चुहेर रसन हुँदै तल सापखोलीमा पुग्थ्यो । त्यहाँबाट बग्दै भेरी खोलामा पुगेपछि जिमाली खोला मर्म जिउली हुँदै भेरी नदीमा मिलन हुने भएकोले त्यस क्षेत्रमा प्रवाह हुने पानी उत्तम र पवित्र भएको कुरा तत्कालिन जनमानसमा विश्वास बढ्दै गयो । उक्त पानीले सिंचित जमिनमा उत्पादन भएको अन्न पनि धेरै शुद्ध र हितकारी मानिने हुनाले किनी खानेहरुले खोजी खोजी लिने गरेका रहेछन । अर्को कुरा जिमाली खोला र मर्म जिउलीको किनारमा अन्त्यष्टि दाहसंस्कार गर्दा कुनै तिर्थस्थलमा गरेजस्तै उत्तम हुने कुराको उल्लेख समेत पुराणमा वर्णन गरीएको पाईन्छ । उल्लेखित कुमाँखी सिद्धको विषयमा जे जति समेटिएको छ, सो कपोकल्पित नभै वास्तविक भएको ब्यहोरा जानकारी गराउन चाहन्छु । आदि इत्यादि कारणहरुले गर्दा कुँमाखी सिद्धलाई देवता मानि त्यस ठाँउको ऐतिहासिक महत्व र महिमा बढाउनकालागि प्रत्येक वर्ष दशैको पूर्णिमाको दिन भब्य मेला लाग्ने क्रम शुरु भई हालसम्म पनि निरन्तर चल्दै आएको छ ।

भन्नैपर्ने कुरा थाममा जाने बाटो विकट भएको र थाममा आकर्षण मन्दिर पनि निर्माण नभएकोले जिम्मेवार स्थानिय निकाय र नेपाल सरकारलाई सो विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद ।

प्रतापराज शर्मा (सल्यानी)
हाल : कोहलपुर १०, बाँके

  • २५ आश्विन २०७८, सोमबार २३:१६ प्रकाशित
  • Nabintech