२१ जेष्ठ २०८०, आईतवार
काम नगर्ने कर्मचारी विदाई गर्ने तयारीमा मन्त्री पण्डीत
  • काँचुली खबर

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई विदाका लागि तयार हुन चेतावनी दिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनूगमन समितिले शनिबार नेपालगञ्जमा आयोजना गरेको प्रशासनिक पुनर्संरचनाको सन्दर्भमा सेवा प्रवाहको स्थिती र तहगत अन्तरसम्बन्ध बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले साउनपछि दरबन्दी भएको स्थानबाट मात्रै कर्मचारीले तलब पाउने बताए । हाल केही कर्मचारीहरु खटाएको ठाउँ नजाने र काठमाडौंमा हाजिर गरेर दिन बिताईरहेको भन्दै मन्त्री पण्डितले साउन १ गतेदेखि खटाएको ठाउँमा कर्मचारी जानै पर्ने र नजानेको कुनैपनि बहाना सुन्न तयार नहुने प्रष्ट पारे ।

कर्मचारीले धेरै अटेर गरे नयाँ युवालाई भर्ना गर्न सरकार तयार रहेको भन्दै मन्त्री पण्डितले काम नगर्ने र सेवा सुविधा मात्रै लिन चाहने कर्मचारी विदा हुन तयार हुनुपर्ने बताए । गाउँसभाको अघिल्लो दिन प्रमुख प्रशासकीय अधिकृत काम छोडेर राजधानी आएको बताउँदै मन्त्री पण्डितले नेताको भनसुनमा राम्रो ठाउँमा जान्छु भन्ने ति कर्मचारीलाई मन्त्रालयको कम्पाण्डमा प्रवेश निषेध गरेको दावी गरे । गलत नियतका साथ आउने कर्मचारी र उनलाई संरक्षण दिने राजनीतिक नेतृत्व कसैका कुरा नसुनिने उनको भनाई छ । लोकसेवामा बर्षेनी साँढे ६ लाख युवाले आवेदन दिने तर १०–१२ हजार मात्रै सेवा प्रवेश गर्ने गरेको बताए ।


उनले सुत्केरी, गर्भवती, मुटुको भर्खरै अप्रेषण गरेका, किमो लिईरहेका कर्मचारीलाई भनेको स्थानमा सरुवा गर्न तयार रहेको बताउदै अहिले कतिपय कर्मचारी आफु घरमा नभए श्रीमती र छोराछोरीलाई निन्द्रा नै नआउने भन्दै आउने गरेको सुनाए । उनले नियत बिग्रेका कर्मचारीले खोजी खोजी दुःख पाउने बताए । कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र दाङका प्रशासनिक नेतृत्व तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता रहेको कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल लगायतले सङ्घीयताको सवालका लागि प्रदेश र स्थानीय तह बलियो हुनुपर्नेमा जोड दिए । छलफलमा सहभागी स्थानीय तहका प्रमुख र उपप्रमुखले कर्मचारीको छिटो भन्दा छिटो ब्यवस्थापन गर्न आग्रह गरेका थिए ।
समितिका संयोजक काशिराज दाहालले नेपालको सङ्घीयता सहकार्यता र समन्वयमा आधारित रहेको बताए ।

 

स्रोत : लोकप्रीय/सदरलाईन

  • १६ असार २०७५, शनिबार २०:०० प्रकाशित
  • Nabintech