५ जेष्ठ २०८१, शनिबार
महिला फुटबल : मैत्रीपूर्ण खेलमा नेपालको बिजयी सुरुवात
  • काँचुली खबर

दुई खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल समेत गरेपछि नेपालको महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलो मैत्रीपूर्ण खेलमा २-१ पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै गोल गरे । सात नयाँ अनुहार समेट्दै टिम बनाएका प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्धको बिहीबारको खेलमा ४ खेलाडीलाई डेब्यु गराएका थिए ।

घरेलु मैदान र दर्शकको अगाडि नेपालले २३ मिनेटभित्र नै दुई गोल गरेको थियो । टिमका मुख्य स्ट्राइकर सावित्रा भण्डारी चोटका कारण मैदान बाहिर रहेकोले सबिता रानाले अग्रपंतिमा पहिलो रोजाइमा खेलेकी थिइन् । सबितासंगै १६ वर्षीय प्रितीले पनि अग्रपंतिमै खेलेकी थिइन् ।

खेलको १४ औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चौधरीको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । विमलाले उपलब्ध गराएको क्रसमा सबिताले पेनाल्टी एरिया भित्रबाट हेडर गोल गरिन् ।

२३ औं मिनेटमा अर्का डेब्युटान्ट प्रिती राईले सरु लिम्बुको पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सरुले मैदानको मध्यभाग नजिकबाट उपलब्ध गराएको पासमा प्रितीले अफसाइड ट्रयाप बिट गर्दै गोल गरेकी हुन् ।

दोस्रो हाफमा नेपालले सुरुमै गोल गर्ने अवसर गुमायो । ४९ औं मिनेटमा सरु लिम्बुको पासमा प्रिती राईले पेनाल्टी एरियाभित्रबाट गरेको प्रहार बंगलादेशी गोलकिपर रुपना चक्माले बचाइन् । दोसो हाफमा नेपाली खेलाडीमा फिटनेसमा समस्या देखियो । नेपालले फिनिसिङमा राम्रो गर्न सकेन ।

बंगलादेशका लागि तोहुरा खातुनले ८३ औं मिनेटमा सान्त्वना गोल गरिन् ।

नेपालका लागि सिर्जना सिंहले ८१ औं मिनेटमा र रश्मी कुमारी घिसिङ ८६ औं मिनेटमा मैदान प्रवेश गरेर खेलमा डेब्यु गरे । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

  • २४ भाद्र २०७८, बिहीबार १९:३२ प्रकाशित
  • Nabintech