१२ बैशाख २०८१, बुधबार
नेपालको नाका नजिकै विमानस्थल बनाउँदैछ चीन
  • काँचुली खबर

चीनले सन् २०२१ भित्र आफ्नो दक्षिणी सिमानामा तीन वटा विमानस्थल बनाइसक्ने योजना अगाडि सारेको छ ।

नेपाल, भारत र भुटानको सीमामा चिनियाँ विमानस्थल निर्माण गर्न लागिएको हो । सबै उच्च हिमाली क्षेत्रमा निर्माण हुने चीनले जनाएको छ ।

संसारकै छानो मानिने तिब्बती पठारको पिछडिएको क्षेत्रलाई जोड्ने उद्देश्यले बेइजिङले उक्त कदम उठाएको हो । ल्होका, सिगात्से र ङारीमा ती विमानस्थल निर्माण हुनेछन् । ल्होका भारत सीमामा पर्छ भने सिगात्से नेपालको सीमामा । यस्तै, ङारी भुटानको सीमामा पर्छ । ल्हासा विमानस्थलमा पनि एक धावनमार्ग थप गर्ने चिनियाँ योजना छ ।

नागरिक उड्डयन प्रशासनका अधिकारीलाई उद्धृत गर्दै पिपल्स डेलीले जनाएअनुसार सबैको लागत १६ अर्ब ७० करोड युआन अर्थात् दुई अर्ब ६० करोड अमेरिकी डलर अनुमानित छ ।

ल्होकाको ठूलो भूभागलाई भारतले आफ्नो भएको दाबी गर्दै आएको छ । ल्होकालाई मन्डारिन भाषामा ‘सेनन’ भन्ने गरिएको छ । त्यो दक्षिण-पूर्वी तिब्बतको प्रिफेक्चर स्तरको शहर हो, जुन पहिले अरुणाचल प्रदेशमा पथ्र्यो । र, भारत र भुटानबाट घेरिएको थियो ।

उक्त विवादास्पद क्षेत्र २८ हजार सात सय वर्गकिलोमिटरमा फैलिएको छ । र, चीन-भुटान सीमाको दोक्लामबाट नजिक पर्छ । गत वर्ष यही समयमा दोक्लाममा चीन र भारतका सैनिक आमनेसामने भएका थिए । चीनले गरिरहेको सडक विस्तार रोक्न भारतले भुटानमा तैनाथ आफ्नो सेनालाई चिनियाँ भूभागसम्म पु¥याएको थियो ।

पछिल्ला दिनमा भारत-चीन सम्बन्धमा सुधार देखिएको छ । खासगरी, केही समयअघि संघाई को-अपरेसनको बैठकमा भाग लिन किङ्दाओ पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग गरेको भेटघाटयता विगतको तिक्तता हटेको विश्वास गरिएको छ ।

ल्होका विमानस्थल चीनको १ ३औं पञ्चवर्षीय योजना (सन् २०१६-२०२०) का लागि धेरै अघिदेखि प्रस्तावित थियो । तर, त्यहाँ विमानस्थल निर्माणको विषयले भारतलाई चिढ्याउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । सीमामा सैन्य उपस्थिति मजबुत बनाउने उद्देश्यले चीनले विमानस्थल बनाउन लागेको आरोप भारतले लगाउन सक्छ ।

उत्तर-पश्चिमी तिब्बतको ङारी प्रिफेक्चर अक्साई चीनको एक भाग हो । त्यहाँ पनि नयाँदिल्लीले चीनलाई आफ्नो सैन्य उपस्थिति हटाउन माग गर्दै आएको छ । र, त्यहाँको सैन्य उपस्थितिलाई ‘अवैध कब्जा’ को संज्ञा दिँदै आएको छ । ल्हासा विमानस्थलमा धावनमार्ग थपसहित तीन वटै विमानस्थलको सम्भाव्यता अध्ययन रिपोर्ट गत अप्रिलमा स्वीकृत भएको थियो । तीनै विमानस्थल नागरिक उड्डयनका लागि प्रयोग हुने चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

  • १६ असार २०७५, शनिबार १७:२१ प्रकाशित
  • Nabintech