५ जेष्ठ २०८१, शनिबार
दुवै हात नभएका चिनियाँ खेलाडीको ‘किर्तिमान’ !
  • काँचुली खबर

दुवै हात नभएका चिनियाँ पौडी खेलाडी जेङ ताओले टोक्यो पाराओलिम्पिक्समा कीर्तिमान भङ्ग गर्दै चार स्वर्ण जितेपछि चर्चित बनेका छन् ।

‘छोरी, मलाई हेर, मसँग हात नभए पनि म चाहिँदो छिटो पौडिन सक्छु !’ एउटा पौडी जितेपछि जेङले छोरीका लागि राखेको भिडिओ सन्देशमा भनेका छन् ।

बाल्यकालमा करेन्ट लागेर दुवै हात गुमाएका जेङले फ्रीस्टाइल, ब्याकस्ट्रोक र बटरफ्लाई स्पर्धामा कीर्तिमान भङ्ग गर्दै स्वर्ण जितेका हुन् ।

उनले सबै एकल स्पर्धामा विश्व वा पाराओलिम्पिक्स कीर्तिमान भङ्ग गरेका छन् ।

बुधवार उनले ५० मि फ्रिस्टाइलमा पाराओलिम्पिक्स कीर्तिमानसाथ जितेको पदकको भने चिनियाँ सामाजिक सञ्जालमा धेरै चर्चा भएको छ । सो पदक चीनले सन् १९८४ मा भाग दिन थालेदेखि पाराओलिम्पिक्समा जितेको ५०० औँ स्वर्ण पदक हो ।

सो स्पर्धा जितेपछि जेङले पत्रकारहरूलाई भने, ‘यो मेरो टोक्यो ओलिम्पिक्समा अन्तिम स्पर्धा भएकोले मैले सबै शक्ति लगाएँ । मलाई लाग्छ यो मेरो उत्कृष्ट प्रदर्शन हो ।’

सोमबार उनले ५० मिटर ब्याकस्ट्रोकमा ३१।४२ सेकेन्डको समय निकाल्दै विश्व कीर्तिमान कायम गरेका थिए ।

सो प्रदर्शन उनले दुई वर्षीया छोरीलाई भिडिओ सन्देश प्रेषित गरेपछि देखाएका थिए । छोरीसँग कुरा गरिरहेको उनको भावुक पलको भिडिओ सामाजिक सञ्जालमा चर्चित बनेको छ ।

ब्याकस्ट्रोक स्पर्धाका लागि उनी मुखले च्यापेको रुमालको सहायताले पौडी पोखरीमा अडिन्छन् ।

इन्टरनेटमा उनलाई ‘साँचो प्रेरणा’ र ‘गर्वको स्रोत’ भनेर प्रशंसा गरिएको छ ।

समाचारहरूका अनुसार जेङले दैनिक कम्तीमा १० किलोमिटर पौडेर टोक्योको लागि तयारी गरेका थिए ।

उनले १३ वर्षको हुँदा पौडी खेल्न सुरु गरेको र त्यसको छ वर्षपछि नेदरल्यान्डमा भएको विश्व च्याम्पिअन्शिपमबाट प्रतिस्पर्धा गर्न सुरु गरेका थिए ।

सन् २०१२ को लन्डन पाराओलिम्पिक्समा १०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण पदक जितेका थिए ।

अहिलेसम्म उनले नौ पाराओलिम्पिक्स पदक जितिसकेका छन् ।

  • १८ भाद्र २०७८, शुक्रबार २०:०७ प्रकाशित
  • Nabintech