१५ चैत्र २०८०, बिहीबार
छिन्नमस्ता देवीको मुकुट भेटियो
  • काँचुली खबर

मुलुककै प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको मुकुट फेला परेको छ । मुकुट चोरी गर्ने व्यक्ति पनि समातिएका छन् ।

आइतबार साँझ छिन्नमस्ताको चाँदीको मुकुट चोरी भएको थियो । चोरी भएको मुकुट विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

उनका अनुसार मुकुट बोकेका मान्छे गाउँ घुमिरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले ती मान्छेलाई नियन्त्रणमा लिएको छ । ‘नियन्त्रणमा लिएका मान्छेको मानसिक सन्तुलन ठीक नभएको कुरा आइरहेको छ’ एसपी धमलाले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’

छिन्नमस्ता गाउँपालिका ३ स्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मूर्तीबाट मुकुट चोरी भएपछि खोजीका लागि भारतीय सीमा समेत सिल गरी चोर खोज्ने काम गरिएको थियो ।

मुकुट चोरी भएको सूचना आएपछि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित सुरक्षा अधिकारी राति छिन्नमस्ता मन्दिर पुगेका थिए ।

मन्दिरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । तर, २०७७ साल असार महिनामा बिग्रेको यो क्यामेरा मर्मत गराउनेतर्फ कसैले ध्यान दिन सकेको छैन ।

  • १८ श्रावण २०७८, सोमबार ०९:१५ प्रकाशित
  • Nabintech