१ जेष्ठ २०८१, मंगलवार
लघुकथा : ‘गुणको पैंचो’ !
  • काँचुली खबर

‘हेलो ! मान्नीय ज्यू, नमस्कार । म सुभाष बोल्दैछु । सुन्नु न बालाई कोरोना लाग्यो । श्वास फेर्न नसकेर छट्पटिनु भएको छ । अस्पतालमा बेड र अक्सिजन छैन भनी भर्ना गर्न मानेको छैन । भनिदिनु पर्यो ।’ सुभाषले आफ्नो क्षेत्रका साँसदलाई फोन गर्यो ।
‘हजुर नमस्कार । म जिल्ला बाहिर छु । पार्टीको कामले काठमाडौ छु । नआत्तिनु होला । म प्रयास गर्छु ।’ उताबाट जवाफ आयो ।
सुभाषले थुप्रै ठाउँ प्रयास गर्यो । सबै नाकाम सिद्ध भए । डाक्टर र नर्सहरुलाई हारगुहार गर्यो । कामयावी देखिएन । फेरि मान्नीयलाई फोन लायो, ‘हेलो । लौन मान्नीय ज्यु ! गाह्रो भयो । बा मर्ने भए । केही उपाय गरिदिनु पर्यो ।’
‘हजुर, त्यस्तो केही हुँदैन । नआत्तिनु । यता सरकार परिवर्तनको कसरत भैरहेछ । म मन्त्रीको लाइनमा छु । अलि बेफुर्सदी भए । भ्याए भने म फोन गर्दिन्छु ।’ यत्ति भनी फोन काटियो ।
बाउको अवस्था एकदम नाजुक भयो । दगुरेर डक्टर बोलायो । डाक्टरले घोप्टो पारी सुताउन लगाए । घोप्टो पार्यो । घ्यारर्र…… घ्यारर्र….. गरे । प्राण उड्यो । अस्पतालले लास कब्जा गर्यो । लास व्यवस्थापन टोलीले मापदण्ड अप्नाएर लास गाडे । सुभाष निरही भयो । धर्मकर्म अनुसार एक मुठी सामलसम्म दिन सकेन । ऊ एक्लै घर फर्क्यो ।
असहज परिस्थितिका बाबजूद कोरा बारेर एक्लै किरिया बस्यो । घरमा सन्नाटा छायो । छरछिमेकी कोही आएनन् । बाहुन बोलाउने कुरो पनि भएन । आफूले जे जे थाह पाएको थियो त्यही त्यही गर्यो । आज दशौ दिनको कार्जे सकेर टोलाई रहेको थियो । मोबाइलको घण्टी बज्यो ।
‘हेलो ! नेता जी ।’ निराश भावमा सुभाष बोल्यो ।
‘हेलो सुभाष जी । मैले डाक्टरलाई भन्देको छु । फोन गरेर जानू त ।’ साँसदले सान झारे ।
‘हस् नेता ज्यू । हजुरको यो गुणको पैंचो चुनावमा तिर्नेछु ।’ सुभाषले फोन काट्यो ।

छविलाल खड्काका ‘पाँच साइनो’ !


छविलाल खड्का
कोहलपुर

  • १ जेष्ठ २०७८, शनिबार १४:१५ प्रकाशित
  • Nabintech