१५ चैत्र २०८०, बिहीबार
३७ वर्षपछि घरेलु मैदानमा नेपालको जित
  • काँचुली खबर

नेपाली फुटबल टोलीले ३७ वर्षपछि घरेलु मैदानमा उपाधी चुमेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो ।

खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए भने ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका छन् । योसँगै ३७ वर्षको अन्तरालपछि नेपालले पहिलोपटक घरेलु मैदानमा ट्रफी हात पारेको छ ।

विराजले लिए सम्मानजनक विदाइ

हस्ती खेलाडीहरूले अपेक्षाअनुरूप बिदाइ नपाएका धेरै उदाहरण छन् । ती उदाहरण सम्झने हो भने नेपालका ‘लिजेन्ड’ फुटबलर विराज महर्जनलाई भाग्यमानी मान्नुपर्छ । विराजले सोमबार नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबलर र घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर अन्तर्राष्ट्रिय फुटबललाई ‘बाइबाई’ भने । उनको बिदाइ खेलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रह्यो ।

३० वर्षीय विराजको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २-१ ले हराएर त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आफ्नो अन्तिम खेल खेलेका विराजलाई प्रधानमन्त्री ओलीले च्याम्पियन ट्रफी हस्तान्तरण गरे । साधारणतया कप्तान र प्रशिक्षकले ट्रफी ग्रहण गर्ने भए पनि विराजलाई सम्मानस्वरूप ट्रफी उचाल्ने मौका दिइएको हो ।

फाइनलको ८९औँ मिनेटमा त्रिदेव गुरुङको स्थानमा विराज मैदानमा प्रवेश गर्नुभएको थियो । विराजले आफ्नो अन्तिम खेलमा सात मिनेट मैदानमा बिताए । खेलमा छ मिनेट अतिरिक्त थपिएको थियो । विराजले सन्न्यासपछि आफूले नेपाली टिमलाई दिन पाएको सेवा र आफू फुटबलर बन्नुमा भाग्यमानी छु भन्दै थपे, “मेरो लागि सबभन्दा ठूलो कुरा नेपालका लागि खेल्नु नै हो । फुटबल नरोजेको भए मलाई विराज महर्जन भनेर कसैले चिन्दैनथे । फुटबललाई म भगवान् मान्छु ।”

विराजले नेपालका लागि ७३ खेल खेलेका छन् । उनीपछि नेपालका लागि सबभन्दा बढी खेल राजुकाजी शाक्यले ६८ खेल खेलेका छन् । विराज नेपालका सर्वाधिक सफल फुटबल खेलाडी तथा कप्तानमध्ये एक पनि हुन्।

सन् २०१६ मा नेपालले लगातार तीन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जितेको थियो । त्यो पनि विदेशी भूमिमा जसको तुलना हुन सक्दैन । जुन गौरव नेपाली फुटबलमा पहिलो पटक सम्भव भएको हो । यी तीन उपाधि जित्दा विराज टिमका कप्तान थिए । उनले एक अन्तर्राष्ट्रिय गोल पनि गरेका छन् । उनले १८ खेलमा नेपालको कप्तानी गरेका छन् । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • १७ चैत्र २०७७, मंगलवार ०९:२६ प्रकाशित
  • Nabintech