६ जेष्ठ २०८१, आईतवार
बाँकेमा क्षयरोगबाट ५८ जनाको मृत्यु
  • काँचुली खबर

बाँकेमा १९ महिनाको अवधिमा क्षयरोगबाट ५८ जनाको ज्यान गएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा मंगलबार जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो रिपोर्ट सार्वजनिक गरीएको हो ।

क्षयरोगबारे सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग र कुष्टरोग फोकल पर्सन मानव नेपालीले अघिल्लो आर्थिक वर्ष र चालु आवका ७ महिनामा ५८ जना क्षयरोगीले ज्यान गुमाएको जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ३८ र चालु आर्थिक वर्षमा २० जनाको क्षयरोगबाट ज्यान गएको नेपालीले प्रष्ट पारे ।

लुम्बिनी प्रदेशमा धेरै क्षयरोगी भएका जिल्लामध्ये बाँके तेस्रो नम्बरमा रहेको उनले बताए । सबैभन्दा बढी रुपन्देहीमा एक हजार एक सय ६३, दोस्रो दाङमा नौ सय १६ र तेस्रो बाँकेमा आठ सय ३३ क्षयरोगी छन् । यो अघिल्लो आर्थिक वर्षको तथ्याङ्क हो । यो वर्षका सात महिनामा थपिएका चार सय ७५ क्षयरोगी जोड्दा जिल्लामा १९ महिनामा एक हजार तीन सय आठ जना क्षयरोगी भएका छन् ।

  • १० चैत्र २०७७, मंगलवार १६:१५ प्रकाशित
  • Nabintech