७ बैशाख २०८१, शुक्रबार
के पुरुष पनि बलात्कारमा पर्छन् ?
  • काँचुली खबर

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन, बाहिर आउँदैन । के महिलाले पुरुषलाई बलात्कार गर्दैनन् ? यस प्रश्नप्रति आम चासो हुनसक्छ ।

मैले बुझे अनुसार महिलाबाट पनि पुरुषहरू बलात्कृत भैरहेका छन् । तर, पुरुषले आफू बलात्कृत भएको कुरा बाहिर भन्न सक्दैनन् । यस्तो हुनुमा पुरुषमा पितृसत्तात्मक सोच हाबी भएर हो । समाजले पुरुषमाथि ‘बहादुरी’ को पगरी भिराइदिएको छ । त्यसैले पनि पुरुषहरू यौन हिंसा, बलात्कारको बारेमा खुल्न चाहँदैनन् । कुनै महिलाले पुरुषमाथि बलात्कार, यौन हिंसाजन्य क्रियाकलाप गरिरहेकी छिन् भने पुरुष सहेर बसिरहन बाध्य छन् । किनभने त्यस्ता कुरा बाहिर समाजमा कसैसँग भन्यो भने कमजोर ठानिने, नामर्द भइने, आफ्नै गल्ती पो हुने हो कि भन्ने आशंका जस्ता कारणले उनीहरू सहन बाध्य भएको पाइन्छ ।

यस्तै, पुरुषले आफू बलात्कृत भएको कुरा कसैलाई भन्दा विश्वास पो नगर्दिने हो कि भन्ने आशङ्काले पनि यस्ता कुरा लुकाइरहेको पाइन्छ । तर, कुनै पनि पुरुषलाई महिलाहरूले विभिन्न तरिकाबाट बलात्कार अथवा यौन हिंसा गरिरहेका हुन्छन् । यौनाङ्ग चलाएर, छोएर, हेरेर, यौन प्रस्ताव राखेर अर्थात् जबरजस्ती गरेर यौन हिंसा तथा बलात्कारका प्रयासहरू भैरहेका छन् नै ।

यस्ता क्रियाकलाप भइरहँदा पनि सम्बन्धित निकायमा गएर उजुरी गर्ने आँट पुरुषमा छैन । साथै, उनीहरूलाई यो चाहिँ ममाथि भइरहेको यौन हिंसा हो भन्ने कुरा पनि थाहा छैन । जसरी महिलालाई कस्ता क्रियाकलापलाई यौन हिंसा भन्ने भनेर सानैदेखि सिकाइएको हुन्छ । त्यही कुरा पुरुषलाई सिकाइँदैन । त्यसैले पुरुषहरू महिलाबाट भएको यौन हिंसा भित्रभित्रै दबाउन बाध्य छन् । साथै, यस्ता घटनालाई बाहिर ल्याउन नसक्दा कतिपय पुरुषहरू मनोवैज्ञानिक रूपमा विच्छिप्त भैरहेका हुन्छन् । जसले उनीहरूमा हिंसाको भावनाको विकास हुन्छ । त्यसैले पुरुषहरूलाई हामीले सानैदेखि यी व्यवहार चाहिँ यौन हिंसा हो, यसको बारेमा तिमीले खुलेर बोल्न सक्छौ भन्ने कुरा सिकाउन अत्यन्तै जरुरी छ ।

तर, कतिपय पुरुषहरूलाई यौन हिंसा र बलात्कारका बारेमा खुलेर बोल्ने वातावरण सिर्जना गर्दा उनीहरू यस्ता कुराहरूमा खुल्ने गरेको पाइन्छ । सहज वातावरणमा यौन हिंसा र बलात्कारका प्रकृतिका बारेमा जानकारी गराइदिँदा धेरैजसो पुरुषहरू कुनै न कुनै समयमा आफू यौन हिंसा अथवा बलात्कारको सिकार भएको महसुस गर्न थाल्छन् ।

पुरुषलाई महिलाले गर्ने बलात्कारको समाचार पनि अपवादमा मात्र आएका छन् । तर, बलात्कार हुन्छ र भइरहेको पनि छ । मैले अघि पनि भने पुरुषहरू आफूलाई जहिल्यै पनि माथि राखिराख्न चाहन्छन् । त्यसै कारण उजुरी गर्ने, बलात्कारीलाई अपराधी करार गरेर सार्वजनिक गर्ने कार्य गर्न उनीहरू रुचाउँदैनन् ।

बलात्कारभन्दा पनि बढी यौन हिंसा हुन्छ, पुरुषमाथि । अझ त्योभन्दा बढी पुरुषले पुरुषलाई गर्ने बलात्कार बढी हुने गरेको पाइन्छ । यो ‘केश’ चाहिँ बढी संवेदनशील छ । मसँग सल्लाह लिन आइपुगेका पुरुषहरू अलिअलि खुल्न थालेका छन् । धेरैजसोले यौन हिंसा भएको बताउँछन् ।

त्यसैले पुरुषमाथि हुने बलात्कार तथा यौन हिंसाका प्रकृतिबारे खुलेर बोल्नका लागि उनीहरूलाई बाल्यकालदेखि नै सिकाउन जरुरी छ ।

(मनोविद करुणा कुँवरसंग गरिएको कुराकानीको आधारमा)

  • ३ चैत्र २०७७, मंगलवार १४:१९ प्रकाशित
  • Nabintech