२१ बैशाख २०८१, शुक्रबार
लघुकथा : ‘कमाइको बाटो’ !
  • काँचुली खबर

पशुपति-गौशाला क्षेत्रमा लामो समयदेखि रैथाने झै बस्दै आएको मरन्च्याँसे-ख्याउटे अनुहार हो, टुकेन्द्र । ऊ करिब पचासको हाराहारीको देखिन्छ । सधैं जसो यही एरियामा घुम्छ । पासाको पसलमा गएर वासा तान्छ । पकेटमा पैसा भए तिर्छ नत्र भाँडा माझेर पनि वासा तान्छ । यो एरियामा ट्वाँके बुढो भनेपछि सबैले चिन्छन् उसलाई । कहिले काहीँ पसलमा खाइरहेका ग्राहकहरुको अगाडि ङिच्च हरिया दाँत देखाउँदै याचना गर्छ । कसैको मन पग्लिए एक गिलास वासा पाउँछ । दुई हात जोडेर कृतज्ञता जाहेर गर्छ र ठूलै उपलब्धी ठान्छ । यो उसको दिनदैनिकी जस्तै भएको छ ।
आज नयाँ सर्ट लाएर फुर्तिसाथ फुलन्देलाई साथमा लिएर पासाको पसलमा छिर्यो, टुकेन्द्र ।
‘पासा, दुई गिलास वासा र दुई हाप भुटन ल्याऊ ।’ आदेश दियो टुकेन्द्रले ।
पासाले आश्चर्ययित पाराले हेर्दै वासा र भुटन टेबुलमा पुर्यायो । दुवै पिउन शुरु गरे । आज टुकेन्द्रको पकेट अलि गरम छ । उसमा फुर्ति बढेको छ । वासाले करेन्ट हान्दै गए पछि ऊ ठूल्ठूलो स्वरमा बोल्न थाल्यो ।
‘फुलन्दे, बुझिस् ! आजभोलि त मैले पनि पैसा कमाउने बाटो भेटेको छु । अब मेरा दुखका दिन गए । अब पासाको जुठा भाँडा माझेर वासा तान्ने दिन सकिए । फुर्तिले कमाइन्छ, मस्तीले खाइन्छ ।’ टुकेन्द्रले सान झार्यो ।
‘मलाई पनि पैसा कमाउने बाटो सिकाइदेऊ न !’ फुलन्दे ।
‘हैट ! अर्काले सिकाएर हुन्छ । लेखेर ल्याउनुपर्छ । के चिन्ता गर्छस् वासाकालागि, मसँग आइज न’ टुकेन्द्र । एवं रीतले दिनदिनै पासाको पसलमा वासा तान्ने र शानले पैसा बुझाउने गर्दै थियो, टुकेन्द्र । उसको जिवनमा आएको परिवर्तनले पासा पनि चकित परेको थियो । ट्वाँकेको आम्दानी कसरी बढ्यो ! जे भए पनि उसको आम्दानी बढ्दा आफूलाई पनि फाइदै छ भनेर चित्त बुझायो ।
एक साँझ, पासा पसल बन्द गरेर कोठामा टिभी हेर्दै थियो । च्यानल फेर्दै जाने क्रममा एउटा दृश्य देख्यो । टिभीमा ट्वाँकेलाई देखेर रोकियो । ठूलो भीडकाबिचमा ट्वाँके, एउटी महिला र करिब छ वर्षदेखि दस वर्षका तीन जना झुत्रे झाम्रे भुराभुरी थिए । बालबालिका खोज तलास समन्वय केन्द्रले पशुपतिनाथ मन्दिरको गेटमा माग्न बसेका बालबालिका समाएछ, ती बालबालिका त ट्वाँकेका छोरा-छोरी रहेछन् !

लघुकथा :  ‘संस्कार’ !

छविलाल खड्का
कोहलपुर

  • १९ माघ २०७७, सोमबार १६:०५ प्रकाशित
  • Nabintech